टोपबहादुरविरुद्ध जारी पक्राउ पूर्जीबारे एमालेको प्रतिक्रिया : छानबिनमा सघाउछौँ, तर आशंका छ

टोपबहादुरविरुद्ध जारी पक्राउ पूर्जीबारे एमालेको प्रतिक्रिया : छानबिनमा सघाउछौँ, तर आशंका छ

पूर्वमन्त्रीसमेत रहेका पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेर सरकारले अतिरञ्जित प्रचार गरेको भन्दै नेकपा एमालेले असन्तुष्टि जनाएको छ । 

सो पार्टीका एक नेताले बोलाएर सोधपुछ नगरी एकाएक पक्राउ पुर्जी जारी गर्नुले घटनालाई सनसनीपूर्ण बनाउन खोजेको हो कि भन्ने आशंका पैदा भएको बताए । यसबारे पार्टीमा छलफल नभएको जानकारी दिँदै नाम उल्लेख नगर्न आग्रह गरेका उनले निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।  

अहिले छानबिनको प्रारम्भिक प्रक्रिया शुरु भएकाले अनुसन्धानमा सघाउने उनको भनाई छ । ‘अहिले आरोप मात्र लागेको हो, प्रमाणित भएको हैन’, उनले भने, ‘पार्टीमा यसबारे छलफल पनि भएको छैन । मेरो विचारमा निष्पक्षतापूर्वक अनुसन्धान हुनुपर्छ र उहाँ (टोपबहादुर) ले त्यसमा सघाउनुपर्छ भन्ने कुरा हो ।’

सांसदजस्तो मर्यादित पदमा रहेको व्यक्तिसँग कुनै समन्वय नगरी पक्राउ पुर्जी जारी गरिएको भन्दै ती नेताले अगाडि भने, ’बोलाएर कुरा गरेको भए पनि हुन्थ्यो । यदी अटेर गरेको भए बल्ल पक्राउ पुर्जी जारी गरेर समात्नुपर्ने हो । त्यसैले यसलाई अलि बढी सस्तो लोकप्रियताका लागि हाईसाउण्डिङ गर्न खोजेको देखिन्छ ।’

यद्यपि अहिले नै त्यसरी आशंका नगर्ने उनले बताए । ’छानबिनको प्रक्रिया शुरु भएको छ, उहाँले आफ्नो संलग्नता छैन भन्नुभएको छ त्यो पुष्टि होस् भन्ने हाम्रो अपेक्षा हो’, उनको भनाइ छ ।  यसअघिका गृहमन्त्री बालकृष्ण खाँणको नाम पनि यस प्रकरणमा जोडिएको दाबी गर्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी हुन्छ कि हुँदैन त्यसपछि थप प्रतिक्रिया दिने बताए ।    

नक्कली शरणार्थी बनाएर करोडौँ कुम्ल्याउने गिरोहमा नाम जोडिएपछि जिल्ला अदालत काठमाडौँले आज दिउँसो रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग टोपबहादुरको राजनीतिक साँठगाँठ रहेको आरोप छ ।

यसप्रकरणमा रायमाझीका छोरा सन्दीप, एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र त्यतिबेलाका गृह सचिव (हाल उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

टिप्पणीहरू