साँढे जुधाईमा एन्फा र नेपाल प्रहरी, साँगामा पढ्ने कसरी ?

साँढे जुधाईमा एन्फा र नेपाल प्रहरी, साँगामा पढ्ने कसरी ?

नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको हानाथापले आगामी दिनमा राम्रा खेलाडी बनाउन खोजिएको भनिएका विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । एन्फाले आफ्नो जिम्मामा ल्याएको बालबालिकाको शैक्षिक शुल्क नतिरिदिएपछि बनेपा नजिकैको साँगामा रहेको नेपाल प्रहरी विद्यालयले विद्यार्थीहरुको माथिल्लो कक्षाको भर्ना एकाएक रोकिदिएको बताइन्छ । 

विद्यालयले भर्ना लिन नमानेपछि विद्यार्थीहरु अलपत्रमा परेका हुन् । शैक्षिक सत्र शुरु भइसक्दा पनि उनीहरुले पढ्न पाएका छैनन् । एन्फाले पढाउँदै राष्ट्रिय टोलीमा सहभागी हुने खेलाडी तयार पार्न विभिन्न जिल्लाबाट ५७ जना विद्यार्थी छनोट गरेर ल्याएको थियो । 

१३ वर्षमुनिका बालबालिका ल्याएको एन्फाले गोलाप्रथामार्फत विद्यार्थी छनोट गरेको बताएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले १७–१७ जनाको दरले विद्यार्थी पढाउने र खेलाडी बनाउने जिम्मेवारी पाएको थियो । छात्रवृत्ति कोटामा सैनिक आवासीय महाविद्यालय, नेपाल प्रहरी विद्यालय र नेपाल एपीएफ स्कुलको भागमा सात जनाको दरले विद्यार्थी परेका थिए । 

ती विद्यार्थीको खाने, बस्ने, पढ्नेलगायत खर्च एन्फाले जुटाउने सहमति भएको थियो । तर, एन्फाले रकम नपठाइदिएपछि विद्यार्थीहरुको भविष्य अन्यौल र समग्र अवस्था चिल्लीबिल्लीको नजिक पुगेको बताइन्छ । सशस्त्र र सेनाले आफैंले रकमको व्यवस्थापन मिलाएर पढाइरहँदा नेपाल प्रहरीले छात्रवृत्ति कोटामा रहेका विद्यार्थीको पठनपाठन नै ठप्प पारिदिएको हो । 

आफ्ना छोराछोरीलाई काठमाडौंमा ल्याएर नौ कक्षामा अलपत्र पार्न खोजेपछि विद्यार्थीका अभिभावकहरुले असन्तुष्टि जनाएका हुन् । प्रहरीले रकम चुक्ता नगरेसम्म ती विद्यार्थीको भर्ना नलिने अडान लिएपछि अभिभावकसहित उनीहरु मानसिक तनावमा परेको बताइन्छ ।

मुलुकको कर्णधारलाई हौसला दिनुको सट्टा निराश पार्ने काम भएको उल्लेख गर्दै एक विद्यार्थीका अभिभावकले निकै अर्थपूर्ण दुःखेसो पोखेका छन् । राज्यले जिम्मा लिएर ल्याइएका आफ्ना छोराछोरीको बिचल्ली बनाउन नमिल्ने उनी बताउँछन् । सरकारले खेलकुदलाई गम्भीरतापूर्वक नलिँदा खेलकुद क्षेत्र उकासिन नसकेको उनको भनाइ छ । 

‘एन्फाले राष्ट्रिय टीममा खेलाउने भन्दै हाम्रा छोराछोरीलाई ल्यायो । अहिले आएर बीच बाटोमा अलपत्र पार्न मिलेन् नि । भर्ना गरेर पढाऔं भने त्यत्रो पैसा कहाँबाट ल्याउने ? हाम्रो छोराछोरीको भविष्य अध्याँरोमा पारिदिने काम सरकारले गरिरहेको छ’, उनले भने ।  

प्रहरीले शुल्क नतिर्ने विद्यार्थीलाई निकाल्ने चेतावनी दिएपछि उनी तनावमा देखिएका हुन् । प्रहरीले हाललाई भर्ना गरेर पठनपाठन गर्ने वातावरण मिलाइदिनुपर्नेमा उनको जोड छ । यता, एन्फाले ‘अण्डर १६’ र ‘अण्डर १९’ को गेम पनि नखेलाएको उनी बताउँछन् । एन्फा आफ्नो जिम्मेवारीबाट पन्छिँदै गएको उनको आरोप छ ।  

एन्फाका महासचिव दामोदर भट्टराईले सबै समस्या समाधान भइसकेको जानकारी दिए । एन्फाले विद्यार्थीको अभिभावक र प्रहरी विद्यालयको पदाधिकारीसहितको बैठक राखेर तत्काल विद्यार्थी भर्ना अघि बढाउने विषयमा केही दिनअघि सहमति जनाएको उनको भनाइ छ । महासचिव भट्टराईका अनुसार अघिल्लो कार्यसमितिले बजेटका लागि पठाउनुपर्ने कागजात नपठाइदिएकाले एन्फालाई सकस परेको हो । 

‘हामीले हाम्रो जिम्मामा विद्यार्थी ल्याएका हौं । विद्यार्थी ल्याइसकेपछि हामीले बिचल्लीमा पार्ने कुरो भएन् । विद्यार्थीको अभिभावकसहित प्रहरी विद्यालयका प्रतिनिधि राखेर छलफल गर्यौं’, उनले भने, ‘बच्चालाई स्कुलबाट ननिकाल्न आग्रह गरेका छौं । उहाँहरुले अहिले नयाँ कक्षामा भर्ना गरिदिने प्रतिबद्धता जनाउनुभएको छ ।’

यता, नेपाल प्रहरीले भने एन्फासँग कुनै सहमति नभएको प्रष्ट पारेको छ । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले एन्फाले २०७८ सालदेखि विद्यार्थीको कुनै पनि शुल्क नतिरेको बताए । 

पटकपटक ताकेता गर्दा पनि एन्फाले बेवास्ता गरेपछि प्रहरीले बाध्य भएर भर्ना रोक्नुपरेको उनको भनाइ छ । एन्फाले पहिलेकै १५ देखि २० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको पनि उनले जानकारी दिए । 

विद्यार्थीको भविष्यको सवाल भए पनि प्रहरीले केही गर्न नसक्ने प्रवक्ता कडायत बताउँछन् । दुई जना विद्यार्थीका अभिभावकले भर्ना शुल्क तिरिसकेको उल्लेख गर्दै उनले एन्फाले भर्ना गरिदिएमा पठनपाठन जारी राख्ने उल्लेख गरे ।  

‘हामीले पटकपटक एन्फालाई ताकेता गरिसकेका छौं । चिठी पनि थुप्रैचोटि पठाइसकेका छौं । अहिलेसम्म कुनै जवाफ नै आएको छैन् । अनि हामीले पनि के गर्ने ? विद्यार्थीलाई अर्को विद्यालयमा भर्ना गर भने पनि उनीहरु मान्दैनन्’, उनले भने, ‘दुई जनाका अभिभावकले भर्ना गरिदिनुभो । उनीहरुको पठनपाठन शुरु भइसकेको छ । एन्फाले भर्ना मात्र गरिदियो भने पनि हामी पढाउँछौं ।’

छात्रवृत्ति कोटामा पढ्ने कतिपय विद्यार्थीका अभिभावकलाई बिहान बेलुकाको गर्जो टार्न पनि महाभारत छ । यस्तोमा उनीहरुले आफ्नो छोराछोरीलाई कसरी पढाउने ? उज्जवल भविष्यको सपना बोकेर दुर्गम जिल्लाबाट प्रहरी स्कुल आएका विद्यार्थीहरु अहिले मानसिक तनावमा परेका छन् । उनीहरुलाई पढाई बीचैमा खोसिने हो कि भन्ने चिन्ताले पिरोल्न थालेको छ ।

टिप्पणीहरू