पूर्वमा अध्यक्ष ‘लखेटिएको’ विरोधमा एमालेका सांसदहरु जर्याकजुरुक जुठे

पूर्वमा अध्यक्ष ‘लखेटिएको’ विरोधमा एमालेका सांसदहरु जर्याकजुरुक जुठे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले आफ्नो पार्टीका अध्यक्षमाथि झापामा भएको ‘आक्रमण’ को विरोध संसद बैठकमा गरेका छन् । आजको प्रतिनिधिसभा बैठकम सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका हुन् । 

सभामुखले बैठक सुरु भएको बताएलगत्तै एमालेका सांसदहरु आफू बसेको सिटबाट उठेर विरोध गर्न थाले । त्यसपछि सभामुख देवराज घिमिरेले त्यस पार्टीका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । गिरीले झापामा अध्यक्ष ओलीमाथि आक्रमण भएको र सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै चर्को असन्तुष्टि पोखे । 

घटनाका दोषीलाई कारबाही गर्न तथा अवान्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिन सरकार असफल भएको उनको आरोप थियो । बैशाख १३ गते गृहजिल्ला झापाको एउटा कार्यक्रममा भाग लिन पुगेका ओलीलाई पहिचान पक्षधर समूहले नाराबाजी गर्दै बाटो अवरोध गर्ने प्रयास गरेको थियो । 

कोशी नामकरण सच्याउन माग गर्दै लामो समयदेखि आन्दोलनरत पहिचानवादीहरुले भने ओलीकै निर्देशनमा कोशी नाम राखिएकाले उनी सहभागी कार्यक्रममा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताउँदै आएका छन् । एमाले अध्यक्षमाथि कुनै आक्रमण नभएको उनीहरुको दाबी छ । 

तर, एमाले नेताहरुले भने आफ्ना अध्यक्षमाथि सत्तापक्षबाट नियोजित हमला भएको आरोप लगाइरहेका छन् । यद्यपि उक्त घटनामा संलग्न रहेका केही व्यक्तिलाई प्रहरीले उत्तिखेरै पक्राउ गरेको थियो । एमालेका सांसदहरुले माओवादीका ‘अयोग्य लडाकु’ लाई सरकारले राहतस्वरूप दुई लाख वितरण गर्ने तयारी गरेको भन्दै विरोध गरेका छन् । अहिले संसद बैठक भने चलिरहेको छ ।

टिप्पणीहरू