उपेन्द्रलाई भोट माग्दै प्रधानमन्त्रीले भन्नुभयो : गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ, तपाईंहरुको समस्या हल हुन्छ

उपेन्द्रलाई भोट माग्दै प्रधानमन्त्रीले भन्नुभयो : गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ, तपाईंहरुको समस्या हल हुन्छ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो राष्ट्रपतिले रोकेको नागरिकता विधेयक संसदबाट पारित गरेर विद्यमान नागरिकता समस्या समाधान गरिने बताउनुभएको छ । 

आज दिउँसो सत्ता गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई भोट माग्न बाराको निर्वाचन क्षेत्र नम्बर २ पुग्नुभएका प्रधानमन्त्रीले त्यहाँ आयोजित चुनावी सभामा उक्त धारणा राख्नुभएको हो । त्यसक्रममा प्रधानमन्त्रीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम उल्लेख नगरी उहाँकै कारण नागरिकता समस्या समाधान हुन नसकेको उल्लेख गर्नुभयो । 

‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ ।’

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवको अगुवाइमा बाराले विकासको फड्को मार्नेसमेत दाबी गर्नुभयो । गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन सरकारले पहल लिने उहाँले सार्वजनिक प्रतिबद्धता जनाउनुभयो । 

‘उपेन्द्र यादव देशको नेता हो, संसदका लागि चाहिने नेता हो, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो । मधेशले मात्रै नभएर देशले जित्नु हो । संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो । समग्र परिवर्तनका मुद्दाले जित्नु हो । संविधान र लोकतन्त्रको रक्षा एवम् समृद्धिका लागि यो गठबन्धन बनेको हो । त्यसैले उपेन्द्रजीलाई जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पारौं ।’

प्रधानमन्त्रीले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने अर्को प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । बाराको गढीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ । म तपाईंहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सकेर छिट्टै यसको शिलान्यास गरिनेछ ।’

चुनावी सभामा पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाललगायतले सम्बोधन गर्नुभएको थियो ।

टिप्पणीहरू