यसकारण रविविरुध्द जारी भएछ ‘फोरक्लोजर नोटिस’को चेतावनी

यसकारण रविविरुध्द जारी भएछ ‘फोरक्लोजर नोटिस’को चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुध्द अमेरिकामा छँदा फोरक्लोजर नोटिस अर्थात फौजदारी अभियोगको सूचना जारीको चेतावनी दिइएको पाइएको छ । उनले घर धितो राखेर लिएको ऋण चुक्ता नगरेपछि मिस्टर कुपरले त्यस्तो चेतावनीयुक्त सूचना प्रकाशित गरेका हुन् । 
 
पटकपटक ऋणको साँवा र ब्याज तिर्न ताकेता गरे पनि लामिछानेले टेरपुच्छर नलगाएपछि उक्त संस्थाले बाध्य भएर जतिसक्दो छिटो ऋण चुक्ता गर्न भनेको थियो । टेक्सासको डलासबाट सन् २०१९ को जुन १० तारिखका दिन रविविरुध्द उक्त सूचना जारी भएको थियो ।

ऋणको किस्ता नतिरेको कारण घर जफत हुनसक्ने चेतावनी दिँदै लेखिएको पत्रमा भनिएको छ, ‘एक वा सो भन्दाबढी घरको किस्ता भुक्तानी गरिएको छैन । ऋणको ब्याज र किस्ता सम्झौताअनुरुप नतिरे फौजदारी सूचना जारी गर्न बाध्य होइन्छ ।’

उक्त कारवाहीबाट बच्न कुपरले ऋण नवीकरण गर्न, कर्जा चुक्ता तालिका पुनसंरचना गर्न वा अन्य विकल्प तयार पारेर फौजदारी अभियोगको सूचना जारी हुनबाट जोगिनसमेत सुझाएको थियो । कम्पनीले फौजदारी सूचनापछि ऋण चुक्ता नगरेको विषय ४५ दिनभित्र अदालतमा पेश गरिने पूर्वचेतावनी दिएको पत्रमा उल्लेख छ ।

लामिछानेले पहिले घरको ऋण तिर्न, उनकी पूर्व पत्नी इशा लामिछानेको खर्च व्यवस्थापन गर्न र इशासँग गरिएको सम्बन्ध विच्छेद पत्रमा बालबच्चाको जिम्मेवारी वहन गर्न सहमत भएको विवरण उल्लेख छ । 

यता विभिन्न क्रेडिट सुविधाको किस्ता नतिरेपछि रविविरुध्द मेरिल्याण्ड न्यायिक निकायमा लगातार मुद्दा दायर भएको छ । सन् २०१९ को फेब्रुअरी १४ मा  उनीविरुध्द मुद्दा परेको देखिन्छ । मेरिल्याण्ड राज्यले बाल्टिमोर काउन्टी अदालतमा दायर गरेको मुद्दामा ६ हजार ९६४ डलर बिगो मागदाबी गरिएको थियो । उक्त मुद्दाको दर्ता नम्बर ०३–१–१९–००१७६८ रहेको प्राप्त विवरणमा उल्लेख छ ।

त्यसैगरी सोही राज्यले सोही अदालतमा त्यति नै बिगो मागदाबी गर्दै सेप्टेम्बर २०, २०२१ का दिन पनि रविविरुध्द मुद्दा हालेको थियो । त्योभन्दा पाँच दिनअगाडि सोलोमिन्स इन्कले बाल्टिमोर काउन्टी अदालतमा १ हजार ८६४.३७ डलर मागदाबी गर्दै अर्को मुद्दा दायर गरेको थियो ।

सन् २०२० को फेब्रुअरी १९ र सन् २०२० को मे ११ का दिन क्रमशः स्लोमिन्स इन्क र मिडल्याण्ड क्रेडिट म्यानेजमेण्ट इन्कले पनि १ हजार ८६४.३७ र १ हजार ८१८.२७ डलर मागदाबी गर्दै उनी विरुद्ध मुद्दा हालेका छन् । तर, रवि भने यता इमान्दारिता, नैतिकता र सुशासनको प्रवचन दिँदै चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खटिएका छन् । 

अमेरिका र नेपालको दोहोरो नागरिकता दुरुपयोग सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनले गत माघ १३ गते सांसद, उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति, संसदीय दलको नेतालगायत सबै सार्वजनिक पद र जिम्मेवारीबाट च्यूत भएका थिए ।
 

टिप्पणीहरू