‘कोर टिम’ को दोस्रो क्लिपले रविको पार्टीभित्र थप ‘छयालब्याल’

‘कोर टिम’ को दोस्रो क्लिपले रविको पार्टीभित्र थप ‘छयालब्याल’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको कुराकानीको अडियो बाहिर आएको भोलिपल्ट अर्को अडियो वार्तालाप समेत बाहिरिएको छ । उक्त क्लिपमा आफूलाई ढाकाको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीच मोबाइल वार्ता सुनिन्छ । 

ती व्यक्तिले प्रसाईंसँग भेट्न चाहेको कुरा बताएका छन् । उनले प्रसाईंसँग भेट्ने समय पनि मागेका छन् । ‘दाइले एकचोटि कुरा गर न त’ भनेर आफूले फोन गरेको प्रसाईंलाई बताएका छन् । यसअघि श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियोमा सार्वजनिक भएको थियो ।

‘पार्टीले अब कारबाही गर्ने भयो । दाई साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । दाईलाई फसाए । हजुरले यसो बुझ्दिनु पर्यो यो कुरालाई,’ ढाका कुमारको भाई बताउने व्यक्तिले प्रसाईंसँग भनेको सुनिन्छ । उनी अघि भन्छन्, ‘एकचोटी दाइले भेट्न खोज्नुभएकोथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?’ प्रसाईंले ‘आफू वीरगञ्जको कार्यक्रममा रहेको र बेलुका भेट्नका लागि भन्दिनु’ भनेका छन् । 

प्रसाईंले यसमा श्रेष्ठको नभइ रवि लामिछानेको दोष उल्लेख गरेका छन् । प्रसाईंले श्रेष्ठलाई सहयोग गर्न तयार भएको पनि सुनिन्छ । भाई भनिएकाको आवाजमा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिए हुन्थ्यो भन्ने आशय पनि बुझिन्छ । यति मात्र नभई उनै गौतमबाट मध्यस्थताको अपेक्षासमेत गरिएको छ । घोरिएर सुन्दा दोस्रो अडियो क्लिपको आवाज पनि ढाकाकुमारको आवाजसँग मेल खान्छ । कपुरबोट डटकमले पनि यो आवाज ढाकाकुमारकै रहेको दाबी गरेको छ । 

अघिल्लो अडियो क्लिपमा श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नक पार्टीको ‘कोर टिम’ लाई बुझाउनुपर्ने भन्दै प्रसाईंसँग दुई करोड रुपैयाँ मागेका थिए । अघिल्लो प्ररकण पनि ‘कपुरबोट डटकम’ को युट्युब च्यानलमार्फत नै बाहिरिएको हो । दोस्रो ‘क्लिप’ मा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँग पनि कुराकानी भएको सुनिन्छ । प्रसाईंले ढाका कुमारको दोष नभइ रविको दोष रहेको बताएका छन् । प्रसाईंले ढाकारामलाई सहयोग गर्न तयार रहेको आश्वासन पनि दिएका छन् । 

यसैबीच दुई करोड प्रकरणमा छानबिनका लागि संसदीय छानबिनको माग उठिसकेको छ । अडियोमा भनिए जस्तो कोर टिमलाई बुझाउन मागिएको रकमबारे रास्वपाकै कतिपय सांसद र केन्द्रीय सदस्यहरुले भित्री तहसम्मै छानबिनको माग गरेका छन् । आन्तरिक रुपमा रास्वपा अध्यक्ष लामिछानेको ‘कोर टिम’ लाई पनि छानबिनको दायरामा ल्याइनुपर्ने माग चर्कंदै गएको रास्वपा निकट एक नेताले जानकारी दिएका छन् । 

प्रसाईसँग भएको अडियो संवादमा ढाकाकुमारले बारम्बार सभापति लामिछानेको ‘कोर टिम’ मा रकम जाने बताएका छन् । तसर्थ, त्यो समूहमाथि छानबिन हुनुपर्ने माग रास्वपाभित्र पेचिलो बनेको हो । रास्वपा केन्द्रिय सदस्यको भूमिकामा रहेका एक जना नेताका अनुसार पार्टीको विश्वास जोगाउन नेता एव्म सांसद अरनिको पाँडेलगायतले ‘कोर टिम’ माथि नै छानबिनको माग चर्काएका हुन् । ढाकारामको मात्र छानबिनले नपुग्ने भनाई उनीहरुको छ । यद्यपि ‘उप निर्वाचन’ को चटारो देखाउँदै रास्वपा नेतृत्वले यस विषयमा रुची देखाएको छैन । छानबिन नहुँदा पार्टीभित्रै एकले अर्कालाई शंकाको दृष्टिले हेर्दै सतर्क हुनुपर्ने अवस्था पैदा भएको उनीहरुको भनाइ छ । 

भूमिगत ‘कोर टिम’ बारे यतिबेला सबैतिर चासो र जिज्ञासा उत्पन्न भएको छ । विगतमा लामिछाने न्युज– २४ मा रहँदासमेत ‘कोर टिम’ मार्फत रकम संकलन गर्ने गरेको आरोप लागेको थियो । ‘कोर टिम’ मार्फत स्वार्थवशः मोटो रकममा हात फिँजाउने गरिएका सन्दर्भ पनि त्यतिबेला मिडिया बजारमा उठ्ने गरेका हुन् । रास्वपाका उनै नेता भन्छन्, ‘नेतृत्वसँग पत्रकार पृष्ठभूमिका समेत गरेर कोर टिममा चार–पाँच जनाको मिलिभगत छ । भित्रै पनि यो सानो टुकडीलाई बेलामौकामा छायाँ नेतृत्व भन्दै ठट्टासँगै चर्चा पनि चल्ने गर्दछ ।’

यसैबीच उपनिर्वाचनको मुखमा यस्तो विषयलाई प्रवेश गराउन नहुने भन्दै लामिछानेले नै छानबिन पञ्छाउन खोजेको अर्काथरीको भनाई छ । सभापति लामिछानेलाई समेत मुछेर एकपछि अर्को प्रकरण जोडिन थालेपछि रास्वपा बेथिति र विकृतिको आहालमा चुर्लुम्म भएको राजनीतिक क्षेत्रमा व्यापक चर्चा छ । सांसद ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दोस्रोपल्ट गरेको कुराकानीको अडियोसमेत बाहिरिएपछि यो प्रकरण झन् छयालब्याल भएको हो ।

टिप्पणीहरू