अमेरिकामा सात सय, चीनमा साढे पाँच सय डलर अर्बपति

अमेरिकामा सात सय, चीनमा साढे पाँच सय डलर अर्बपति

विश्वमा सबैभन्दा धेरै अर्बपति अमेरिकामा छन् । अर्बपतिहरुको विवरण सार्वजनिक गर्ने  पत्रिका फोर्ब्सका अनुसार यस वर्ष अर्बपतिहरुको सूचीमा पनि अमेरिका अगाडि देखिएको छ । जसअनुसार त्यहाँ सात सय ३५ जना अर्बपति छन् ।

उनीहरुको कुल सम्पत्ति चार दशमलव पाँच ट्रिलियन डलर पुगेको छ । जसमा बिल गेट्स, एलन मस्क, जेफ बेजोस, मार्क जुकरबर्ग, ल्यारी पेज, सर्गेई ब्रिनलगायत अर्बपतिको सूचीमा अगाडि छन् । 
उता चीनमा पाँच सय ६२ जना अर्बपति रहेको बताइएको छ । धेरै अर्बपति भएको मुलुकमा चीन दोस्रो स्थानमा परेको छ । चीनका ती अर्बपतिहरुको कुल सम्पत्ति दुई ट्रिलियन डलर पुगेको छ ।

फोर्बस्का अनुसार यस पटक भारत तेस्रो स्थानमा उक्लिएको छ । १६ जना नयाँ अर्बपति थपिएको भारतमा एक सय ६९ जना अर्बपति पुगेका छन् । उनीहरुको कुल सम्पत्ति ६ सय ७५ अर्ब डलर छ । भारतीय अर्बपतिहरुमा लक्ष्मी मित्तल, गौतम अडानी, मुकेश अम्बानी, फाल्गुनी नायर, कामत ब्रदर्स मुख्य हुन् । 

त्यसपछि सबैभन्दा बढी अर्बपति भएको मुलुकमा जर्मनी परेको छ । एक सय २६ जना अर्बपति रहेका जर्मनीमा सेक्ब्रज ग्रुपका मालिक डिटर सेक्ब्रज मुलुककै सबैभन्दा धनी व्यक्ति हुन् । 

एक सय ५ जना अर्बपति भएको रुस पाँचौ स्थानमा रहेको फोर्ब्सले जनाएको छ । रुसका ती अर्बपतिहरुको कुल सम्पत्ति चार सय ७४ अर्ब डलर पुगेको छ । 

नेपालमा एकमात्र डलर अर्बपति विनोद चौधरी हुन् । उनको सम्पत्ति १ अर्ब ८० करोड डलर रहेको बताइएको छ । तर, उनको सम्पत्तिबारे नेपाल सरकार र सरकारी निकायहरु बेखबर छन् । उनी मुलुकभित्र कर तिर्ने व्यवसायीहरुमध्ये सामान्यमा पर्छन् ।

टिप्पणीहरू