पूर्व राजालाई बोलाउन केपी ओलीले अह्राएको मार्सीको आरोप

पूर्व राजालाई बोलाउन केपी ओलीले अह्राएको मार्सीको आरोप

राजा फर्काउने नाममा 'ऋण मोचन' अभियान चलाइरहेका मेडिकल बिचौलिया दुर्गा प्रसाईं 'मार्सी'ले केही महिनाअघि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दुई छोरीहरु रेणु र गंगालाई आफूले घर बनाइदिएको दाबी गरे । एउटा टिकटक भिडियोमा उनी आफैँले गंगा र रेणुको घर बनाउन पैसा दिएको बताएका थिए । बिगतमा प्रसाईं र प्रचण्डबीच आर्थिक लेनदेन र व्यापारिक साझेदारी रहेको चर्चा चल्ने गरेको थियो । त्यस्ता चर्चालाई बल मिल्ने गरी मार्सीको उक्त अभिव्यक्ति माओवादी र प्रचण्ड परिवारविरुद्ध टिप्पणी गर्नेहरुलाई गज्जबको मसला बन्यो ।  

खासगरी एमाले कार्यकर्ताले उक्त भिडियोलाई प्रचण्डविरुद्ध भरपुर प्रयोग गरे । मार्सीको अभिव्यक्तिको रेणु र गंगाले खण्डन नगरेकाले उनीहरुले घर बनाउन पैसा लिएको पुष्टि हुने तर्क गर्दै सामाजिक सञ्जालमा एमाले कार्यकर्ता पोखिएका थिए । हुन पनि गम्भीर आरोप लागेपछि त्यसको खण्डन नहुँदा आशंका हुन्छ नै । अरु कतिपयले पनि 'दालमे कुछ काला है' को आशंका गरेकै हुन् ।

प्रचण्ड परिवारमाथि प्रश्न उठाइरहदा यतिबेला एमाले कार्यकर्ता स्वयं मार्सीको अर्को त्यस्तै अभिव्यक्तिले अप्ठेरोमा परेका छन् । र यतिबेला प्रश्न उठाउने मौका पाएका छन् माओवादी कार्यकर्ता । उनै मार्सीले एमाले अध्यक्ष केपी ओलीसँग सरसल्लाह गरेरै आफू राजा फर्काउने अभियानमा लागेको सार्वजनिकरुपमै दाबी गरेपछि माओवादी कार्यकर्तालाई एमाले कार्यकर्तामाथि प्रश्न उठाउने मौका मिलेको हो । 

मार्सीले गत फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यहरूलाई एउटै मञ्चमा राखेर गृहजिल्ला झापाबाट ‘धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को उद्घाटन गराएर गराएका थिए । उनका अनुसार ओलीकै सल्लाहमा त्यस कार्यक्रमको चाँजोपाँजो मिलाइएको थियो । र, कार्यक्रममा सहभागी हुन ओलीलाई पनि बोलाइएको थियो । त्यहि कार्यक्रमका लागि दमक पुगेर पनि ओली अन्तिममा सहभागी नभएको मार्सीले दाबी गरेका छन् । 

हालै सार्वजनिक यौटा टिकटक भिडियोमा मार्सीले भनेका छन्, 'मैले केपी ओलीज्युकै सल्लाहमा राजा ज्ञानेन्द्रलाई मेची पुलमा लिएर गएको हो, आज मैले दमकमा सत्य कुरा गर्नुपर्छ ।' आफ्नो फोनबाट केपी ओली र पूर्वयुवराज पारस शाहबीच कुराकानी गराएको समेत उनले दाबी गरेका छन् । 'मेरै फोनबाट पारस सरकारसँग केपी ओलीज्यूको कुरा भाको हो', उनले भनेका छन्, 'म पनि आउंछु त्यहाँ भन्नुभएको थियो र संवैधानिक राजतन्त्र ल्याउनुपर्छ नाति भन्नुभएको हो ।' 

ओलीले संघीयता खारेज गराउने र अहिले बौद्धिक सनातन धर्म सापेक्ष भन्दै अन्तत: हिन्दुराज्य बनाउन आफूले सहयोग गर्ने बचन दिएको पनि मार्सीको दाबी छ । 'हिन्दु राज्य कायम गराउनुपर्छ तर, अहिले हिन्दु चैं भन्नु हुँदैन । बोलिहाल्नु हुँदैन । तर, बैद्धिक सनातन धर्म भन्नुपर्छ ।संघीयता त काम लाग्दैन, खारेज गर्नुपर्छ भन्नुहुन्थ्यो हजुर बाउले', सार्वजनिक मंचबाट उनले खुलासा गरेका छन् । 

कार्यक्रममा राजालाई बोलाएर सबै तयारी पूरा भैसकेपछि ओलीले धोका दिएको मार्सीको गुनासो छ । स्मरण रहोस्, पूर्वराजा ज्ञानेन्द्र, उनका छोरा पारस र पूर्वराजपरिवारका अन्य सदस्यहरु मेची पुलमा कार्यक्रम उद्धघाटन गरिरहँदा ओली दमकमा थिए । मार्सीले ओली र पूर्वराजाको 'कनेक्सन' खुलासा गर्नुअघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमै भेटेर यसबारे आशंका गरेको कुरा त्यतिबेलै बाहिर आएको थियो । 

ओलीको चाहाना विपरित एमालेले आफूलाई कारबाही गरेको पनि मार्सीले संकेत गरेका छन् । उनका अनुसार अन्य नेताहरुको दबाबमा परेर ओलीले उनलाई पार्टीबाट निकालेका हुन् । 'यिनै हिक्मत कार्की (कोशी प्रदेशका मुख्यमन्त्री) हरुले दुर्गा प्रसाईंलाई कारबाही गर्नुपर्छ भनेर दबाब दिएछन्, त्यो थाहा पाउने बितिक्कै मैले तिम्रो केन्द्रीय सदस्य तिमि नै राख भनेर मलाई चाहिएन, मलाई केपी ओलीको झोला बोकेर हिंड्नु छैन भनें', उनले चेतावनीका साथ भनेका छन् ।  

मार्सी तिनै व्यक्ति हुन् जसलाई ओली आफैँले राजनीतिमा माथि तानेको भनिन्छ । ‘जता शक्ति उतै भक्ति’ मा कुद्ने मार्सी अघिल्लो महिनासम्म एमालेको केन्द्रीय सदस्य थिए । एमाले र माओवादीबीच पार्टी एकता हुनुपूर्व प्रचण्डको प्रशंसक थिए, मार्सी । नेकपाकालमा दुवै अध्यक्षलाई रिझाएर आफ्नो हितमा काम लिन सफल भएका उनी प्रचण्ड र ओलीलाई आफ्नै घरमा बोलाएर मार्सी चामलको भात खुवाएपछि मार्सी नामबाट प्रख्यात भएका हुन् । 

नेकपा विभाजन भएर एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएपछि मार्सी एमालेतिर लागे र ओलीको प्रशंसामा उत्रिए । त्यसवापत एकैचोटी एमालेको केन्द्रीय सदस्य भए । गत चुनावमा उनी झापाबाट उम्मेदवार हुन् चाहन्थे । तर, एमाले र राप्रपाबीच चुनावी तालमेल हुँदा उनले चाहेको क्षेत्र राप्रपाको भागमा पर्यो र राजेन्द्र लिङ्गदेन त्यहाँ उम्मेदवार बने । त्यसपछि ‘हजुरबा’ सँग ठुस्किएका मार्सी अहिले राजतन्त्र फर्काउने भन्दै ’ऋण मोचन’ अभियानमा निस्किएका छन् ।

दुई महिनाअघिसम्म पार्टीको केन्द्रीय सदस्य रहेका व्यक्तिले खुलमखुला अध्यक्षमाथि गम्भीर आरोप लगाउँदा पनि एमाले नेताहरु भने बोलेका छैनन् । अर्को पार्टी र नेतामाथि सामान्य प्रश्न उठ्दासमेत चर्का टिप्पणी गर्ने एमालेपंतिको यो मौनताले के संकेत गर्छ ? प्रश्न उठिसकेपछि त्यसको खण्डन नहुँदा आम मान्छेले के बुझ्ने ? रेणु र गङ्गामाथि प्रश्न उठाउने एमाले कार्यकर्ता यसबारे बोल्नु पर्छ कि पर्दैन ? जवाफ देऊ एमालेजन - मार्सीलाई कार्वाही गर्ने कि वास्तविकता बताउने ?

टिप्पणीहरू