क्याम्पसको चुनाव एकैपटक गर्न सत्तापक्षीय विद्यार्थीको माग

क्याम्पसको चुनाव एकैपटक गर्न सत्तापक्षीय विद्यार्थीको माग

स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरुमा एकैचोटी चुनाव गर्ने वातावरण मिलाउन प्रमुख तीन विद्यार्थी संगठनले माग गरेका छन् । 

सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ, माओवादी केन्द्रको (अखिल क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले आज संयुक्त विज्ञप्ति निकालेर चुनावको मितिबारे आफ्नो सरोकार राखेका हुन् । विज्ञप्तिमा चैत ५ गतेको चुनाव विभिन्न कारणले रोकिएका क्याम्पसहरुमा यौटै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरिएको छ । 

‘विश्वविद्यालयमा चलिरहेको परीक्षालाई मध्यनजर गर्दै मनोनयन हुन बाँकी रहेका त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा एउटै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयसंग संयुक्त विद्यार्थी संगठनहरु जोडदार माग गर्दर्छौं’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, विश्वविद्यालय र क्याम्पसहरुलाई कुनै दल विशेषको इशारामा चलाउने, स्वच्छ र मर्यादित रुपमा स्ववियु निर्वाचन नगराइ मनोमानी ढंगले दलगत स्वार्थपूर्तिको लागि निर्वाचनलाई प्रयोग गर्नेलगायतका गैरजिम्मेवार र अवैधानिक हर्कत देखिएको भन्दै उनीहरुले त्यसप्रति निन्दा गरेका छन् । 

साथै, स्ववियु निर्वाचन बिथोल्ने उद्धेश्यले कुनै प्रपञ्च रचिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं विश्वविद्यालय र क्याम्पस प्रशासन हुनुपर्ने चेतावनी दिइएको छ । विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण अझैपनि कतिपय क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।
 

टिप्पणीहरू