सेनाका कुन–कुन पल्टन विदेश जाँदै ?

सेनाका कुन–कुन पल्टन विदेश जाँदै ?

शान्ति सेना निर्देशनालयले ०८०/८१ मा विदेश जाने पल्टन छानेको छ । संयुक्त राष्ट्रसंघको शान्ति यात्रामा विभिन्न गणबाट प्रमुख सेनानीको नेतृत्वमा टोली पठाउने गरिएको छ । लेबनानमा हुने ‘युनाइटेड नेशन्स इन्टरिम फोर्स’ मा श्री इन्द्रध्वज गण ६५ औं डफ्फा जाने भएको छ । त्यस्तै, श्री अरिदमन गण दशौं डफ्फाको टोलीलाई दक्षिण सुडानमा खटाइनेछ । 

‘युनाइटेड नेशन्स अर्गनाइजेशन स्ट्याबिलाइजेशन मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ द कंगो’ मा श्री महावीर सौर्य गण (रेञ्जर) को ३० औं डफ्फा जाने तय भएको छ । मध्य अफ्रिकी गणतन्त्रमा सैनिक प्रहरी युनिट नवौं डफ्फालाई पठाइँदै छ । यता, श्री महावीर गण (रेञ्जर) दोस्रो डफ्फाको पल्टन पनि सो मिशनमा जाने भएको छ । ‘युनाइटेड नेशन्स इन्टरिम सेक्युरिटी फोर्स फर अबेई’ का लागि श्री हेडक्वार्टर सपोर्ट युनिट तेस्रो डफ्फाको टोली खटिनेछ । सिरिया जान दुई वटा गण छनोट भएका छन् । श्री फोर्स हेडक्वार्टर सपोर्ट युनिट तेस्रो डफ्फा र श्री हनुमानध्वज एनएमसी गुल्मसातौं डफ्फाको टोली उक्त मिशनमा जाने निर्देशनालयले बताएको छ । 

यता, छनोट भएका गणबाट शान्ति यात्रामा जान इच्छुक प्रमुख सेनानीहरूसंगै समूहको नाम पठाउन भनिएको छ । ‘शान्ति सेना छनौट कार्यविधि २०७९’ को परिच्छेद–२ को दफा ३ बमोजिम आवश्यक योग्यता पुगेका सेनानीहरूलाई चैत १५ गतेभित्र नाम पठाउन सुसूचित गराइएको छ ।
 

टिप्पणीहरू