जताततै राम, हे राम !

जताततै राम, हे राम !

राष्ट्रपतिमा रामचन्द्र पौडेल आएपछि सडकमा गाडी रोक्ने चलनै हटेर गयो । राष्ट्रपति कहीं जाँदा अब गाडी रोक्दैन, मान्छे पनि रोक्दैन । सडक फुक्का फाल हुने भएको छ । राष्ट्रपतिको यो काम देखेर जनता खुशी छन् । नेपाली जनता वास्तवमा कति दुःखी छन्, यसैबाट पनि थाहा हुन्छ । राष्ट्रपति आउँदा बाटो मात्रै नरोक्दा पनि खुश । यति भएपछि अरु केही चाहिएन । 

राष्ट्रपतिमा रामचन्द्र आएपछि देशमा रामराज्य शुरु हुन्छ भन्थे, हो कि क्या हो ? त्यसो त नेपालमा रामराज्य नआउनुपर्ने कारण पनि छैन । किनभने देशमा पहिलो राष्ट्रपति रामवरण यादव हुनुहुन्थ्यो । बीच एउटा ग्याप भयो । ग्यापको क्षतिपूर्ति स्वरूप हामीलाई एकैचौटी दुइटा राम प्राप्त भयो– रामचन्द्र र रामसहाय । अतः हामीलाई रामको कुनै कमी छैन । यति धेरै रामहरू भएका कारणले पनि हामीकहाँ रामराज्य छैन भन्न मिल्दैन ।

अहिले देशमा जुन राज्य छ, त्यो रामराज्य नै हो । किनभने रामराज्यमा राज्य मात्रै रामको हुने हो, शासन चलाउने त हनुमानले हो । अहिले हाम्रो देश पनि हनुमानले चलाइरहेको छ । देशमा रामराज्य भएर न हनुमानले शासन चलाउन पायो । नभए हनुमानको के काम ?

टिप्पणीहरू