प्रहरीको लात

प्रहरीको लात

नेपाल प्रहरीका एक जनाले बौद्ध भिक्षुमाथि ‘किक्’ प्रहार गरेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालभरि प्रश्न छ– भिक्षुलाई किन लात हानेको ? भिक्षुलाई लात हान्न पाइन्छ ? 

प्रश्न सुनेर प्रहरीहरु चकित छन् । भिक्षुलाई लात हान्न पाइँदैन भनेर कहाँ लेखिएको छ ? प्रहरी ऐन, प्रहरी नियमावली, विनियमावली, निर्देशिका आदि कुनै पनि दस्तावेजमा यो लेखिएको छैन कि भिक्षुलाई किक् हान्न हुँदैन । जब लेखिएको छैन भने नहान्ने किन ?

अहिले देशको राजनीतिमा कोचाहिँ त्यस्तो मन्त्री वा प्रधानमन्त्री आएको छ जसले प्रहरीको एक दुई लात नखाएको होस् ? प्रहरीको लात नै त्यस्तै तत्व हो जसले साधारण कार्यकर्तालाई नेता बनाउँछ, नेतालाई महानेता बनाउँछ ।

भनेपछि यो भिक्षु को हो जसलाई प्रहरीले लात हान्न मिल्दैन ? आखिर लातै खाएपछि नै त हो नि भिक्षुलाई पनि ज्ञान प्राप्त हुने । त्यसमाथि लात हान्नु त प्रहरीको प्रशासनिक अधिकार हो । जाबो एउटा लातसम्म पनि हान्न पाइँदैन भने प्रहरी हुनुको अर्थै के भयो र ?  
 
 

टिप्पणीहरू