‘कहीँ नपुर्‍याउने’ शिक्षा

‘कहीँ नपुर्‍याउने’ शिक्षा

नेपालको शिक्षा प्रणालीबारे बहस चल्न थालेको छ । टाइम टाइममा यस्तो बहस हुने गर्छ । बहसले गर्ने त केही पनि होइन ।

तैपनि एउटा बहस सकिएपछि अर्को बहसको मौका भने यसले दिने गर्छ । यस्तो बहसमा आउनेहरू मध्ये अधिकांशको तर्क छ– नेपालमा निजी विद्यालयको शिक्षाभन्दा सरकारी विद्यालयको शिक्षा कमजोर छ । सरकारी विद्यालयको शिक्षाले विद्यार्थीलाई कहीं पनि पुर्‍याउँदैन ।

वास्तवमा यतिबेला हामीलाई ‘कहीं नपुर्‍याउने’ शिक्षाकै आवश्यकता छ । निजी विद्यालयहरूको शिक्षाले विद्यार्थीलाई जताततै पुर्‍याइरहेको छ । कसैलाई अमेरिका पुर्‍याइदिएको छ त कसैलाई अष्ट्रेलिया, कसैलाई क्यानाडा पुर्‍याइदिएको छ भने कसैलाई बेलायत । 

तर, सरकारी विद्यालयले त्यस्तो गर्दैन । अर्थात् कहीँ पनि पुर्‍याउँदैन । अरु त अरु आफ्नै देशको सरकारी कार्यालयसम्म पनि पुर्‍याउँदैन । तर, नपुर्‍याए पनि केही छैन । यतिबेला हामीलाई चाहिएकै यस्तो कहीं पनि नपुर्‍याउने शिक्षा नै हो ।

अहिले नेपाली विद्यार्थीहरू अत्यन्तै बाहिर जान थालेपछि नेपालमै कसरी टिकाउने भनेर सरकारले खुबै बिचार गरिरहेको छ । नेपाली विद्यार्थीलाई नेपालमै टिकाउनु नै अहिले सरकारको निम्ति सबैभन्दा ठूलो चुनौती बनेको छ । यस्तो बेला सरकारी विद्यालयले ‘कहीं नपुर्‍याउने’ शिक्षा दिइरहेको छ भने त्यो त राम्रै कुरा भयो । हैन र ?     

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू