यस्तै हुन्छ शहीदको सूची ?
– जानुका धमला
बाह्र वर्षमा खोला फर्कने नेपाली उखानको एउटा प्रसंग उल्टियो यसपटक विस्तृत शान्ति–सम्झौताको १७ वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको बेला सशस्त्र द्वन्द्वको क्रममा मारिएका शहीदको राजपत्रमा नाम प्रकाशन भयो । ८३७१ जनाको नाम राजपत्रमा आयो तर के यो पूर्ण तथ्यांक हो त ? बाँकी शहीदको विवरण कहिले निस्कन्छ ? जनयुद्धताका माओवादीको सुराकी गरेका र पछि भवितव्यले मरेका मानिससमेत शहीदको लिष्टमा पर्नु तर परिवारलगायत आफ्नो भौतिक शरीर गुमाएकाहरुको नाम हराउनु दुःखद् कुरा हो । यसबाट पनि प्रष्ट हुन्छ– माओवादी पार्टीमा कसको हालीमुहाली छ भनेर । यतिसम्म चरम लापरबाही कि जिल्लादेखि केन्द्रसम्म– द्वन्द्वक्रममा राज्य र विद्रोही पक्षबाट कति मान्छे मारिए कसैसँग तथ्यांक वा यकिन संख्या छैन । अनुमानको भरमा बनेका धेरै डाटाले तथ्यको पुष्टि गर्न सक्दैन ।
शहीदको आलो रगतमा टेकेर बनेका नेता त हाम्रा भएनन् भने झन् अरुको के कुरा ? शहीद परिवार, घाइते, अपांगको लागि बन्द बालुवाटार, सिंहदरबार, गृह मन्त्रालय अब हाम्रा लागि सहज हुन्छन् त ? दावाको साथ भन्न सकिन्छ– जनयुद्धमा इमानदारीपूर्वक लडेर अहिले पनि स्वाभिमानमा बाँचेका मजस्ता योद्धालाई यो सहज छैन किनकि हामीसँग ठेकेदारको लाइसन्स छैन । नेतृत्व यति निकम्मा र भ्रष्ट भइसकेको छ कि उनीहरूले चाहेर पनि दलालहरूको अनुमतिबिना जनताको पक्षमा काम गर्न सक्दैनन् । पुरानो पार्टीको बराबरी हुने मात्र उनीहरूको उद्देश्य छ । हामी दलाली होइन भनेर कोही आउँछ भने म तिनीहरूलाई हजारौँ प्रमाण दिएर दलाल नै हौ भन्न सक्छु ।
शहीद देश र जनताको साझा हुन्छन्, उनीहरू कुनै पार्टी, व्यक्ति वा समूहको हुँदैनन् । सा“च्चै इतिहासदेखि अहिलेसम्म अध्ययन र मूल्यांकन शहीदमाथि न्याय भएको छ त ? उनीहरूको परिवारलाई समाज वा राज्यले सम्मानजनक व्यवहार गरेको छ त ? परिवारको अवस्थाबारे राज्य जानकार छ त ? मजस्तै सयौँ शहीद परिवारले समाज र राज्यबाट भोग्नुपरेको अपमानको पीडा त झन उल्लेख गरी साध्य नै छैन ।
अहिलेको सोच, चिन्तनले जो व्यवस्था र जनताको कष्टकर अवस्था बदल्नका लागि शहीद भए तिनीहरूको सपना पूरा हुन्छ त ? के ती शहीद वृद्ध भएरै मर्न तयार भएका हुन् त ? मैले तयार गरेको प्रश्नको उत्तर सधैँ अनुत्तरित छ । नेतृत्वसँग यी प्रश्नको जवाफ छैन, कुनै कालखण्डमा इतिहासले यसको जवाफ पक्कै देला ।
म आफैँ लडेको छु
मेरा सपना कुँजिएका छन्
मेरा रहर
तिमीलाई शिखरमा पुर्याउने
आत्मविश्वासको
भर्याङ भाँचिएको छ ।
मैले कल्पना गरेको शहरमा पनि
उठ्नु दगुर्नु शिखर चढ्नु
भ्रम मात्र हो ?
मलाई त्यो अग्लो
शिखर चढ्न मन छ
त्यहाँबाट सुन्दर संसार
हेर्न मन छ ।
हिँड्नु छ
दगुर्नुु छ
लड्नु छ र फेरि उठ्नु छ ।
प्रधानमन्त्री प्रचण्डले गर्न बाँकी धेरै काममध्येको एउटा काम फागुन १ लाई जनयुद्ध दिवसको रूपमा मनाउने भनेर संसदमा प्रस्ताव लानु हो, त्यसलाई कार्यान्वयन पनि गरियो ०८० को क्यालेण्डरमा फागुन १ जनयुद्ध दिवसको रूपमा मनाउने भनेर सार्वजनिक पनि भइसकेको छ । शान्ति प्रक्रियाको यति काम गरेर मात्र यो देशमा जनयुद्धको बेलामा बिनास्वार्थ मर्न तयार भएका हजारौँ जुँगाको रेखी नबसेका किशोर र छातीमा गाँठा नउठेका किशोरीको सपना पूरा हुँदैन । सपना पूरा गर्नका लागि दलगत स्वार्थभन्दा माथि उठेर देश र आफूले नेतृत्व गरेको जनयुद्धको वाचा पूरा गर्ने दृढसंकल्पसाथ लाग्नु आवश्यक छ । प्रचण्डलाई समयले फेरि एकपटक अवसर दिएको छ, इतिहास कस्तो बनाउने कुरूप विरूप वा सुन्दर ! त्यो उनकै हातमा छ । शहीद परिवारको हैसियतले भन्छु, कुरूप विरूप इतिहास होइन सुन्दर इतिहास लेख्नुहोला !
टिप्पणीहरू