महिलालाई मोर्चा कसेर हराएकै हुन् त महिलाले ?

महिलालाई मोर्चा कसेर हराएकै हुन् त महिलाले ?

भनिन्छ, एक नारी सबैमाथि भारी ! हालै सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य र ममता झाले अन्य दललाई तिरिमिरीकै शैलीमा अस्ति शनिवार रामशाहपथस्थित दरबार स्क्वायर बैंक्वेटमा सम्पन्न कलाकार संघको निर्वाचनमा रेजिना उप्रेतीले धेरैलाई हाराबारा खेलाइन् ।

रेजिनालाई हराउन बागबजार, पुतलीसडकका चिया पसलदेखि क्याफे, कफी सपसम्म कलाकारको मोर्चाबन्दी देखिन्थ्यो । मोहन निरौलालाई नेतृत्वमा लैजान पुराना कलाकार वसुन्धरा भुसालदेखि सरिता लामिछानेहरू ढुक्कसँग लागेका थिए । अघिल्लो पटक आफैँसँग हारेका मोहनलाई जिताउन सरिताको सक्रियता र बिहानदेखि साँझैसम्म बसुन्धरा भुसालको कुदाइले मोहनलाई जितको खाता खोल्न धेरै सहज भएको हो । 

तर, संघमा आबद्धमध्ये आधाभन्दा केही बढी मात्र मत खस्नु, रेजिनालाई दिइएकामध्ये दुई दर्जन बढी मत बदर हुँदा मोहनलाई सजिलो भएको तथ्य पनि छिपेको छैन । कलाकार संघमा आबद्ध सदस्य संख्या ७ सय प्लस छ तर मत खस्यो ४ सय ६८ मात्र । अर्थात् ६७ प्रतिशत । अध्यक्षमा विजयी बनेका निरौलाले २ सय ३५ मत प्राप्त गर्दा रेजिनाले २६ मत कम अर्थात २ सय ९ मत ल्याइन् । स्रोतका अनुसार रेजिनाको पक्षमा खसेका करिब दुई दर्जन मतमा टिक लगाउनुपर्नेमा सिग्नेचर गरिएको भेटिएको थियो त्यसकारण ती मत बदर हुन पुगे । अहिले यो प्रकरणलाई लिएर सिनेवृत्तमा, महिलाको शत्रु नै महिला भन्न थालिएको छ । उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी हुँदा महासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका छन् ।

कुनै पनि प्यानलमा नअटाएका र स्वतन्त्र मैदानमा होमिएका उत्तम केसी ‘चुँइचुँइ पारेर’ ९७ मत ल्याई पराजित भएका छन् । पराजयपछि साथीभाइहरूलाई बुद्धिमा बिर्काे लागेको र मुखमा राम राम, बगलीमा छुराको व्यवहार देखाएको टिप्पणी गरेका छन् । छोरा पाउनु कहिले–कहिले कोक्रो बुन्नु अहिले भनेझैँ उत्तमको जित सुनिश्चित भएको भन्दै गीता नेपालहरूले फूलमाला किन्न लगाएकी थिइन् तर उक्त फूलमाला खेर गएको छ । यस्तै, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा निरौलाकै प्यानलबाट सह–कोषाध्यक्षमा उम्मेदवारी दिएकी पवित्रा आचार्य भने निर्विरोध निर्वाचित भएकी छन् । 

चुम्बन चर्चा 

कलाकार संघको निर्वाचन त सकिएको छ तर त्यही निर्वाचनका पूर्वसन्ध्यामा एक जना अग्रज कलाकारले जुनियर कलाकारलाई सार्वजनिक मञ्चमै गरेको चुम्बनको चर्चा ताजै छ । सहकोषाध्यक्षको उम्मेदवार थिइन् पवित्रा आचार्य, उनीसँगै मैदानमा थिए रोहित रुम्बा । रुम्बाले मैदान छाडिदिएपछि पवित्रालाई निर्विरोध निर्वाचित हुन बाटो खुल्यो । उनै पवित्रालाई सार्वजनिक मञ्चमै ‘किस’ गरिदिए संघका अध्यक्षले । मोहन निरौलाको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष रवीन्द्र खड्काले पवित्रालाई स्टेजमा पुगेर अंकमाल गरे ।

मौकाको फाइदा उठाउँदै विदेशी शैलीमा सार्वजनिक मञ्चमै चुम्बन समेत गरे । त्यसमा पवित्राले कुनै प्रतिवाद त गरिनन् तैपनि रवीन्द्रको त्यो शैलीको कलाकर्मीले तीव्र विरोध गरेका छन् । कुनै महिला कलाकारलाई बधाई दिन चुम्बन नै गर्नुपर्ने हो ? त्यसो हो भने पुरुष कलाकार विजयी भएका छन्, तिनलाई पनि रवीन्द्रले सार्वजनिक त्यसो चुम्बन गर्न सक्लान् त ? प्रश्न यो कोणबाट पनि उठाउन थालिएको छ ।
 

टिप्पणीहरू