बर्मेली कथा

भाग्यरेखामा जेलिएको जीवन

बर्मेली कथा

-जीवन आचार्य, म्यान्मार

स्वास्नी मान्छेहरू किन प्रेम एउटासँग र बिहे अर्कैसँग गर्छन् ? जबकि अन्तिम सास रहुन्जेलसम्म पहिलो प्रेमलाई भुल्न सक्दैनन् । म मान्छु– आकर्षण कैयौंमा हुनसक्छ । तर, समर्पण एउटैमा हुनुपर्ने होइन र !

स्वयम् भगवान प्रकट भए पनि मैले विश्वास गर्ने थिइनँ । तर, आफ्नै आँखाले देखेँ । बिहानपख कार्यालयका लागि विलम्ब भइरहेको थियो । मैले हतारमा आफ्नो परिचय–पत्र घरमै बिर्सिए छु । आधा–बाटो पुगेपछि याद भो अनि घर फर्कें ।

०००

हतार–हतारमा घर पुगेर मुख्य गेटको ढोका खोलेँ । नजानुपर्ने मेरा निर्दाेष आँखा बरन्डामै ठोकिन पुगेछन् । आफ्नी श्रीमतीलाई पर–पुरुषको अंगालोमा देखेँ । आकाश खसे झैँ भो । जमिन भासिएजस्तै लाग्यो । हातखुट्टा काँप्न थाले । शरीरबाट खलखल पसिना निस्क्यो । मुटुको रक्तसञ्चार रोकियो । प्यास लागेजस्तो या सास फेर्न गाह्रो भएजस्तो भइसकेको थियो । 

म आफ्ना कदम पछाडि मोड्छु । र, केही पर पुगेपछि एउटा रूखमुनि गएर सास अघाउन्जेल फेरेँ । तर, त्यही दृश्य मेरा आँखामा फनफनी नाचिरह्यो । दाहिने हात रूखमा समातेर उभिएँ । र, पनि मेरा दुई पाउ मेरो शरीर धान्न सक्ने अवस्थामा थिएनन् । म त्यहीँ रूखमा अडेस लागेर जमिनमा थचक्क बस्दै पुर्पुरोमा हात राखेँ ।

०००

‘तँ अफिस गएपछि तेरो घरमा एउटा लोग्नेमान्छे आउँछ,’ भेटैपिच्छे धिताल ‘बा’ भन्थे । जब म बाटोमा हिँडिरहेको हुन्थेँ मैले उनका कुराको वास्तै गरिनँ । म जहिल्यै हाँसेरै टारिदिन्थेँ । वास्तवमा म रिसाउनुपर्ने थियो, होइन र !

तर खै ! मलाई उनका कुरा सुनेर कहिल्यै रिस उठेन । मेरी श्रीमतीप्रति स्वयम् आफ्नो आत्माभन्दा अधिक विश्वास थियो । एक त बुढाको मानसिक सन्तुलन ठीक छैन । आफ्नै मन मिल्ने साथीसँग श्रीमती पोइल गएदेखि बौलाएका हुन्–बुढा ।

वर्षाैंअघि त्यो पनि जमानामा धिताल ‘बा’ ले इन्जिनियरिङ पढेका थिए । धिताल ‘बा’  बर्मामा भएका नेपालीहरूमध्ये सर्वाधिक धनीको सूचीमा गनिन्थे । आधा सम्पत्ति श्रीमतीले लुटेर गइन् । बाँकी रहेको आधा सम्पत्ति आफ्नै दाजुभाइले हडपे । यहाँ एउटै आमाको कोखबाट जन्मिएका दाजुभाइ त आफ्ना हुँदैनन् । दोबाटोमा भेटिएकी स्वास्नी मान्छेको के भरोसा ।

केही बेरसम्म म त्यहि रूखमुनि बसेँ । कार्यालयबाट म्यासेज र फोन लगातार आइरहेको थियो । तर त्यो दिन कार्यालय पुग्न नसक्ने जानकारी दिएर मोबाइल स्वीचअफ गरिदिएँ । 

थाहा छैन ! म कतिखेर त्यो रूख मुनिबाट सुलेको ‘ग्यालरी बार’ मा पुगेँ । बोतलको रक्सी जति रित्याउने कोशिश गर्छु, आफूलाई त्यति नै रित्तो महसुस गरिरहेँ । बेसहारा झैँ, निमुखा । आफूलाई एकदम एक्लो पाएँ । मानौं– यो दुनियाँमा स्वयम् म मेरो रहिनँ । 

०००

त्यहिँ बखत एउटी केटी छेउमै आइपुगी । उमेर २२–२३ । मेरै टेबलमा बसी । उ खैरो मिनीस्कर्ट र सेतो टिसर्टमा सजिएकी थिइ । पातलो शरीर, गहुँगोरी, लाम्चो अनुहार, हल्का खैरो कपाल उनको दुई केस्रा कपाल गालाको दुईतिरबाट झरेका थिए । ट्राफिक सिग्नल जस्तै थियो– उनको लिपिस्टिक, एकदमै रातो । हुलिया हेरेरै अनुमान गर्न सकिन्थ्यो कि ऊ पुरुष जातिको भोग मेटाएर आफ्नो भोक मेट्न लागिपरेकी स्त्री हो ।

तर म आफैंलाई सम्हाल्न नसक्ने भएको थिएँ । उसैले सम्हालेर मलाई होटेलसम्म लिएर गई । साँच्चै ! किन यति धेरै कमजोर हुन्छन् पुरुषहरू ? उनीहरूलाई प्रत्येक मोडमा एउटी नारीको जरुरत पर्छ पर्छ ।

उ मेरो छेउमा मौन मूर्ति बनेर बसिरही । मलाई उसको नाम थाहा थिएन, तर दाम थाहा थियो । ‘एक लाख बीस हजार’ यो उसको एक रातको कमाई हो । कोठामा गुलाफी रङ्गको बत्ती मधुरो बलेको छ । निभेको त म छु । अन्धकार छ– मेरो संसार । घात भएको छ मेरो विश्वास । टुक्रै–टुक्रा भएर टुटेको छु, म । जसलाई केही क्षणकै निम्ति भए पनि जोड्ने प्रयासमा थोरै नजिकिँदै उसले सोधी ’केही गर्नु हुन्न ?’

मैले उसको प्रश्नको जवाफ करिव सात सकेण्डपछि फर्काएँ, ‘मलाई मन छैन ।’ ‘त्यसो भए म जान्छु,’ ऊ जुरुक्क उठेर टेबलमाथिको आफ्नो मोबाइल टिप्न खोजी ।

तर उसको देब्रे हात समाउँदै मैले आशावादी नजर लगाए । सायद मेरो आँखाले उसलाई नजाउ भनिरहेका थिए । मोबाइल पुनः टेबलमाथि राखेर केही नबोली उनी मेरो छेउमा आएर टुसुक्क बसी । 

‘मेरो टाउको दुखेको छ, दबाइ दिन्छौ ?’ मैले यो प्रश्न उसलाई नम्रतापूर्वक सोधेको थिएँ । तर उसले अस्वीकार गर्दै भनि, ‘टाउको दबाउने मेरो काम होइन ।’

मलाई झनक्क रिस उठ्यो । आँखा जुधाएरै सोधेँ, ‘त्यसो भए तिम्रो काम के हो?’ उसले जवाफ दिन जरुरी ठानिन । केहीबेरको मौनतापछि सिरानीलाई काखमा राखेर आफूतिर इशारा गर्दै भनी, ‘आउनुस् ।’

मैले आफ्नो शीर उसको काखमा लगेर राखिदिएँ । त्यो रात म उसैको काखमा निदाएछु । बिहान मैले आँखा खोल्दा उसले कोठा छोडिसकेकी थिई ।

०००

आइतबारको दिन थियो । कार्यालय बिदा । म आफ्नै घर फर्किएँ । घरको आँगनमा पाइला राख्दा, मनमा एक किसिमको डर उत्पन्न भयो । घरको ढोका ढप्काइएको मात्र थियो, मैले बिस्तारै खोलें । उ सोफामा निदाएकी थिई । ऊ अर्थात् मेरी श्रीमती तर अर्काकी प्रेमिका अर्थात् ‘सन्ध्या !’

सायद, मैले खोलेको ढोका आवाजले उसको निन्द्रा भङ्ग भयो । आँखा खोल्नासाथ एकैचोटी श्रीमतीको हक जनाउन लागि उ । ‘हिजो कहाँ जानुभएको थियो ? कतिपटक फोन गरें ।’

मैले ‘अफिस’ मा काम परेर उतै रात बिताएको भनेँ । थपेँ, ‘चार्जर घरमा बिर्सिएको कारण मोबाइलको ब्याट्ी डाउन भएको थियो ।’ म आफ्नी श्रीमतीसँग पहिलोपटक झूठो बोल्दै थिएँ । त्यसैले होला उसले अविश्वास गरिन ।

०००

त्यसपछि मलाई झूठो बोल्ने बानी पर्न थाल्यो । बानीभन्दा पनि झूठो बोल्नुपर्ने मेरो बाध्यता थियो । कार्यालयबाट म प्रायः घर अबेर आउन थालेको थिएँ । कहिलेकाहीँ घर आउँनै मन लाग्दैनथ्यो । घर फर्केर आएको दिन अक्सर पदार्थ पिएको हुन्थें । परन्तु नशामा हुँदा पनि मैले उसलाई हात लगाउने होइन गालीसमेत गरिनँ । मेरो मुखबाट अश्लील शब्द कदापी प्रहार भएनन् । मैले उसको चरित्रमा कुनै पनि सवाल कहिल्यै उठाइनँ । 

०००

त्यो दिन ! अर्थात् एकदिन म ‘अफिस’ बाट घर फर्केर आउँदा, ऊ कोठामा बसेर रोइरहेकी थिई । मैले उसका दुबै हात समाएर रुनुको कारण जान्न चाहेँ । उसले आँसु पुछ्दै भनी, ‘केही भएको छैन ।’ जब आइमाईमान्छेहरू मुखबाट केही भएको छैन, भन्छन् । तब उनीहरूको मनमा धेरै कुरा भइरहेको हुन्छ । 

उसका आँखाका आँसु मेरो जीवनका एक मात्र कमजोरी हुन् । म उसका आँखामा आँसु देख्न सक्दिनँ । मैले उसलाई आफ्नो सामिप्यमा खिचेर अँगालोमा लिएपछि मात्रै ऊ थोरै शान्त हुने गरेकी छे ।

प्रायजसो म कार्यालयको निम्ति बिहान ८ बजे घरबाट निस्कन्छु । घरबाट निस्किएको करिब एक घण्टापछि त्यो मान्छे मेरो घरमा आउने गरेको थियो । कार्यालयबाट छुट्टी लिएर कैयौँपटक उसको पछि लागेँ । उ मलाई देख्नासाथ आफ्नो अनुहार छोप्ने गथ्र्यो ।  

टेलिकम अपरेटरमा काम गरिरहेको मलाई, आफ्नी श्रीमतीको फोनमा आएका अप्रत्यक्ष नम्बरको पत्ता लगाउन त्यति गाह्रो भएन । उसको फोन नम्बर, नाम र ठेगाना थाहा भएपछि, उसको घर छिमेकीद्वारा उसले पढेको कलेज पत्ता लगाएँ । उसको र मेरी श्रीमतीको कलेज एउटै थियो अनि एउटै ब्याच । स्नातक तहको अन्तिम वर्षमा उनीहरूको अफेयर चलेको रहेछ । तर कलेज सकिएपछि ब्रेकअप भएको थियो । यो खबर मेरी श्रीमतीकी कलेज साथी श्रुतीबाट थाहा पाएँको थिँए । 

चाहन्थें– मैले थाहा नपाउने ढंगले उसले घर छाडेर गए हुन्थ्यो । यदि ऊ सक्छे भने यो शहर नै छोडे हुन्थ्यो । तर उसले मेरो घर छोड्न नपाउँदै उसको प्रेमीले उसलाई छाडेर गयो । हिजो मात्रै उ थाइल्याण्ड गएको खबर मैले उसैका छिमेकीहरूबाट थाहा पाएको थिएँ । 

त्यो दिनदेखि म आफ्नी श्रीमतीको अनुहार सँधै अन्धकार देख्थेँ । ऊ एकान्तमा रमाउन थालेकी थिई । दुई–तीन चम्चा भात खाएपछि अघाएँ भन्थी । कहिलेकाहीँ मन छैन भन्थी। मध्यरातमा मणि हराएकी नाग झैं छट्पटाइ रहन्थी । मलाई उसको पत्तो नभएको होइन । तर, म उसैको हालतमा छोडिदिन्थें । 

एकदिन कार्यालयबाट घर फर्केर आउँदा, मैले उसलाई भान्सा–घरमा बेहोशी अवस्थामा देखेँ । ‘कतै उसले आत्महत्या त गरिन,’ शंका लागेर हतपत मैले उसको नाडी छामेँ, धन्न धड्कन भेटियो । घाँटीमा पनि छामेँ, निश्चित हुनका लागि । सास बाँकी नै थियो । मैले उसलाई अस्पताल लिएर गएँ । 

केहीबेरपछि डाक्टर बाहिरिएर मलाई बधाई दिए । तर मैले केही बुझ्न सकिन । मनमा केही त्रास र अभिलाषा बोकेर म कोठाभित्रै पसेँ । सन्ध्याले मलाई आफ्नो नजिक आउन इशारा गरी । म केही नबोली उसको छेउमा गएर बसेँ । उसले मेरो दाइने हात आफ्नो पेटमा राख्दै भनि ‘म आमा बन्दै छु ।’ 

‘म बाउ बन्दैछु !’ यो कुरा सुनेर किन मेरो मुटुले आफ्नो धढ्कन बढाउँदैन ? के मेरी श्रीमतीको पेटमा हुर्किरहेको बच्चा मेरो सन्तान होइन ? मेरो मनमा आएका शंकालु प्रश्नहरूले मस्तिष्कलाई लगातार झटारो हानिरहेका थिए । जवाफमा मैले आफ्नी श्रीमतीका आँखामा पढेँ । म यो कथाको अन्त्य चाहन्न...

टिप्पणीहरू