प्रधानमन्त्री हुँदाहुँदै राष्ट्रपतिलाई सल्लाहकार किन चाहियो ? : सांसद पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिले सल्लाहकार नियुक्त गर्न नमिल्ने दाबी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री र क्याबिनेटको सल्लाहमा चल्नुपर्ने राष्ट्रपतिलाई सल्लाहकार र विज्ञ नचाहिने बताएका हुन् । 

केही दिनअघी राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र भारतका राजदूतलाई भेट्ने क्रममा परराष्ट्र सल्लाहकारका नाममा डा. सुरेशचन्द्र चालिसेको नाम आएको सन्दर्भ निकाल्दै पन्तले त्यसो गरिएको हो भने बेठीक भएको बताए । 

‘अहिलेको संवैधनिक व्यवस्थाअनुसार राष्ट्रपतिलाई कुनै सल्लाहकार र विज्ञ चाहिँदैन’, एमालेका प्रभावशाली नेतासमेत रहेका पन्तले भने, ‘राष्ट्रपतिको नियमित सल्लाहकार प्रधानमन्त्री र क्याबिनेट हो । सल्लाहकारका नाममा अनावश्यक नियुक्ति दिएर राज्यलाई व्ययभार बढाउनु ठीक होइन ।’

राष्ट्रपतिले सल्लाहकार र विज्ञ राख्ने कानुन संशोधन गरेर हटाउनुपर्ने बताउँदै उनले अन्यथा दोहोरो शक्तिको अभ्यास हुने जिकिर गरे । यस्तो कानुनी प्रावधानले संसदीय प्रणालीलाई नै कमजोर बनाउने उनको भनाइ छ । 

साथै पन्तले उपराष्ट्रपतिको काम नै नभएकाले राष्ट्रियसभाको अध्यक्षको अवधि सकिएपछि कानुन संशोधन गरेर उपराष्ट्रपतिले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

टिप्पणीहरू