आइजीको लाइनमा रहेका पाँच एआइजीलाई दर्ज्यानी चिन्ह
प्रहरी नायव महानिरीक्षक (डिआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका पाँच जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्हले सुशोभित गरेका हुन् । त्यसक्रममा बढुवा भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै आइजी सिंहले संगठन प्रमुखको रुपमा जिम्मेवारी वहन गर्नका लागि तयार रहन निर्देशन दिएका छन् ।
उच्च तहमा रहने प्रहरी अधिकृतले चौतर्फी चुनौतीको सामना गर्नुपर्ने स्मरण गराउँदै उनले संगठनको आगामी नेतृत्व अब्बल व्यक्तिको हातमा जाने विश्वास व्यक्त गरेका छन् । ‘संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतले चौतर्फी चुनौतीको सामना गर्नुपर्ने हुन्छ । त्यसका लागि अहिलेदेखि नै तयार रहन आवश्यक छ’, आइजी सिंहले भने,‘पदोन्नतिसंगै गहन जिम्मेवारीको बढोत्तरी हुन्छ । प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।’
चैत ६ गतेको क्याविनेटको निर्णयअनुसार वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा बढुवा भएका थिए । बढुवा भएका एआईजीहरुका तर्फबाट मन्तव्य राख्दै कुँवरले संगठनप्रति निष्ठावान रही जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव उपरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो ।
अहिलेका आइजी सिंह र तीन एआईजी आगामी शनिबारदेखि अनिवार्य अवकासमा जाँदै छन् । त्यसपछिको आज दर्ज्यानी चिन्ह पाएका पाँच एआईजीमध्येबाट एक जना आइजी हुने छन् ।आइजीको लाइनमा रहेका पाँच एआइजीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक भेटेका छन् । भेटका क्रममा प्रधानमन्त्रीले उनीहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको बताइएको छ ।
टिप्पणीहरू