बागमतीका मुख्यमन्त्रीले ब्याजदर ‘सिंगल डिजिट’ मा झार्ने

बागमतीका मुख्यमन्त्रीले ब्याजदर ‘सिंगल डिजिट’ मा झार्ने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजनीतिक अस्थिरताका कारण मुलुकको उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन् । व्यवसाय सञ्चालनका लागि सबैभन्दा पहिलो शर्त राजनीतिक स्थिरता भएको उनको भनाइ छ ।

समृद्ध नेपाल बनाउन उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले व्यवसायीहरुको भूमिका बलियो बनाउन राज्यले नीति निर्माण तय गर्न आवश्यक रहेको जिकिर गरेका छन् । हिजो धादिङबेसीमा आयोजित धादिङ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कटटेलले भने, ‘नेपालको विद्यामान अर्थतन्त्र केही खस्कँदो अवस्थामा छ । यसमा सुधार गर्न ब्याजदर एकल विन्दुमा कायम गर्न सक्नुपर्छ । त्यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागिरहेको छ ।’

ब्याजदर एकल विन्दुमा झरेपछि अर्थतन्त्र क्रमिक रुपमा सुधार हुँदै जाने मुख्यमन्त्री जम्कट्टेलको विश्वास छ । ‘बैंकको ब्याज एक अंकभन्दा माथि जाँदैन । व्यवसाय चलेन भने सरकार चल्दैन । मुख्यमन्त्री जम्कट्टेलले भने, ‘सरकारले व्यवसायीको समस्या छिट्टै समाधान गर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बागमती प्रदेश सरकारले उत्पादनको तथ्याङ्क निकालेर राज्यको आयस्रोत बढाउन नयाँ खाका बनाएर बागमती प्रदेश सरकार अघि बढ्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य महासंघ र बागमती प्रदेश सरकार मिलेर उत्पादन तथ्याङ्क तयार पार्न  आवश्यक भइसकेको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

सहकार्य र समन्वयको कमजोरीले आर्थिक संकट : सांसद डिपी अर्याल

धादिङबाट निर्वाचित संघीय सांसद एवम् पूर्व श्रम तथा रोजगारमन्त्री डीपी अर्यालले सरकार र नीजि क्षेत्रबीच सहकार्य र समन्वयको कमजोरीले देशमा आर्थिक संकट आइपरेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासमेत रहेका अर्यालले राजनीतिक दलका नेताहरुकै इसारामा कुनै पनि विषयलाई अल्मलाउने प्रवृत्तिको विकासले उक्त समस्या आएको आरोप लगाए । 

निर्वाचित जनप्रतिनिधिहरुले विजयी भइसकेपछि पनि राजनीतिक खोल फुकाल्न नसकेकोप्रति इंगित गर्दै त्यस्ता जनप्रतिनिधिले जनप्रतिनिधिबाट राजीनामा दिएर मात्रै राजनीतिमा लाग्नुपर्ने सल्लाह दिएका छन् । उनले जिल्लाको सबै  पालिकाको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

सरकार, व्यवसायी र सञ्चार क्षेत्रबीच चल्दै आएको आरोप प्रत्यारोपको बारेमा बोल्दै सांसद अर्यालले भने, ‘म पनि लामो समय उद्योग व्यवसायबाटै राजनीतिमा प्रवेश गरेको हुँ । सञ्चार व्यवसायीको निम्ति अपरिहार्य हुन्छ । लाखौं खर्च गरेको विज्ञापनले भन्दा व्यवसायको बारेमा पत्रकारले अध्ययन गरेर लेखेको समाचारले ठूलो प्रभाव पार्छ । त्यसैले व्यवसायी र सञ्चार क्षेत्रबीचको सहकार्य जरुरी छ ।’ 

व्यवसायीको समस्या समाधान हुन्छ : सांसद रामनाथ अधिकारी

अर्का संघीय सांसद रामनाथ अधिकारीले उद्योगी व्यवसायीको निम्ति राज्यले लिएको नीति अपरिपक्व रहेकाले समस्या आइपरेको बताएका छन् । ‘यो चार महिना बिना कारण समय बर्बाद भयो । मुलुक यो ढंगबाट चल्न सक्दैन । तीन महिनामा नौन दिन मात्रै संसद चल्यो । बाँकी दिन यसै बित्यो । भोलिबाट नियमित संसद चल्नेछ । व्यसवायीले अहिले खेपिरहेका समस्या समाधान हुनेछ’, उनले भने ।  

नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले भोट हाल्नकै निम्ति रातारात सदस्यता दिलाउने र बनाउने प्रवित्तिले धादिङ उद्योग वाणिज्य संघ कमजोर बन्दै गरेको संकेत गरे । 
 
नेपाली काँग्रेसका नेता एवम् ट्रेकिङ एसोसियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष रमेश धमलाले बैंकरहरु आफै उद्योगपति बन्ने प्रवृत्ति बढेकाले उद्योगीहरु संकटमा परेको बताए । नीति र बोलीमा मात्रै परिवर्तन ल्याउने व्यवहारमा लागू नगर्ने प्रवृत्तिले मजदुर र उद्योगी व्यवसायी बलियो बन्न नसकेको उनको भनाइ छ ।  

‘व्यवस्थित नीति बनाउन नसक्दा पनि उद्योग धन्दा फस्टाउन नसकेको हो’, धमलाले भने– ‘बैंकबाट कर्जा लिएर, उद्योगमा लगानी गरेर, देशमै रोजगारी सिर्जना गराउने र नाफा कमाउने सपना व्यवसायीले बोकेको हुन्छ तर, बैंकहरुले बढाएको ब्याजदरकै कारण अहिलेको अवस्थामा त्यो सम्भव छैन ।’ बैंकहरुले मुद्दती खाताको ब्याजदर घटाएर कर्जाको ब्याजदर नघटाए देशमा सञ्चालित उद्योग कारखाना समेत बन्द हुने र देशमा चरम आर्थिक संकटमा पर्ने जिकिर गरे ।

टिप्पणीहरू