बालिका दुर्व्यवहारमा उम्केर नेपाल फर्केका मिडिया सञ्चालक चेक बाउन्समा पक्राउ

बालिका दुर्व्यवहारमा उम्केर नेपाल फर्केका मिडिया सञ्चालक चेक बाउन्समा पक्राउ

नाइस टिभीका सञ्चालक धनबहादुुर पुन मगर उर्फ आशिर्वाद चेक बाउन्सको आरोपमा पक्राउ परेका छन् । श्रमजीवी पत्रकारहरुलाई तोकिएको पारिश्रमिक नदिएपछि उनी श्रमजीवी–पत्रकार संघ नेपालको उजुरीमा प्रहरी खोरमा पुगेका हुन् ।

मगरले ११ जना श्रमजीवी–पत्रकारको पारिश्रमिकवापत ६ लाख १३ हजार ९ सय ६४ रकम नदिएपछि प्रहरीसमक्ष उजुरी परेको बताइन्छ । रकम दिनुको सट्टा उनले सबैलाई खाता रोक्का भएको बैंकको चेक दिएका थिए । मगरलाई काठमाडौं प्रहरी कार्यालय टेकुमा राखिएको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की र डिएसपी श्रीराम भण्डारीले पत्रकारहरुको पारिश्रमिक भुक्तानी गराइछाड्ने प्रतिबध्दता व्यक्त गरेको पीडित पत्रकारहरुले बताएका छन् । 

पुन मगर नौ वर्षअघि अमेरिकामा छँदा बालिकामाथि बलात्कार र दुर्व्यवहार गरेको आरोप लागेको थियो । उक्त आरोप लागेपछि उनी रातारात अमेरिकाबाट नेपाल फर्केको बताइन्छ । पुन त्यसअघि महिला संरक्षण तथा अधिकारसम्बन्धी फाउण्डेसनका संस्थापक थिए । उनले ओसारपसार तथा बेचबिखन र महिला हिंसा तथा दुर्व्यवहारमा परेका बालबालिकाको उध्दार गर्ने बताएका थिए । 
सन् २०१० देखि १२ सम्म उनलाई अमेरिकामा महिला हिंसा र दुर्व्यवहारको धेरै वटा आरोप लागेको थियो । सियाटलमा बस्दै आएका उनीमाथि १३ वर्षकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप लागेको खबर त्यतिबेला अमेरिकी सञ्चारमाध्यममा प्रकाशित भएको बताइन्छ । 

पुनमाथि एउटी किशोरीमाथि नक्कली फेसबुक आईडीमार्फत् पटक पटक अनलाइनबाटै दुर्व्यवहार गरेको,सम्बन्ध राखेको आरोप लागेको हो । उनले किशोरीको फोटोसमेत दुरुपयोग गरेका थिए । अमेरिकी अदालतमा उनीविरुद्ध मुद्दाको प्रक्रिया शुरु हुँदै गर्दा पुनः त्यतिबेला रातारात नेपाल आइपुगेको बताइन्छ ।

टिप्पणीहरू