तलब नबढाए विद्यालय कर्मचारी आन्दोलनमा उत्रिने
नेपाल विद्यालय कर्मचारी परिषद्ले तलब वृद्धिको माग गरेको छ । परिषद्ले उक्त माग गर्दै ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अन्य सरकारी कर्मचारीहरुको तलबभत्ता वृद्धि भइरहँदा विद्यालयका कर्मचारीमाथि विभेद गरिएको भन्दै परिषद्ले ध्यानाकर्षण गराएको हो । तलबभत्ता बढाउनुपर्ने माग राख्दै विगत लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले बेवास्ता गरेको परिषद्को गुनासो छ ।
परिषद्ले विद्यालयका लेखापाललाई ३४ हजार ७३० रुपैयाँ तलब र दुई हजार रुपैयाँ मँहगी भत्ता दिनुपर्ने माग राखेको छ । त्यस्तै, कार्यालय सहयोगीलाई २४ हजार २१० रुपैयाँ तलब र दुई हजार मँहगी भत्ता दिनुपर्ने पत्रमा उल्लेख छ ।
शिक्षण पेशाको भविष्य अन्यौलमा रहेकाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको दरबन्दी सिर्जना गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायित्व गर्नुपर्नेमा परिषद्को जोड छ ।
यता, ६० वर्ष उमेर पुगेका कर्मचारीलाई एकमुष्ट अनुदान उपलब्ध गराउनुपर्ने परिषद्को भनाइ छ । आफ्नो माग सम्बोधन नभएमा तत्काल आन्दोलनमा जाने चेतावनीसमेत दिइएको छ ।
टिप्पणीहरू