कृषि क्षेत्रलाई दलाल पूँजीपतिको हातबाट बचाउन किसानहरु सडकमा उत्रिने
किसान सम्वद्ध आधा दर्जन संघ संगठनले संयुक्त आन्दोलन घोषणा गरेका छन् । किसानहरुको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने मागहरु राख्दै उनीहरुले काठमाडौँमा संयुक्त आन्दोलन गर्न लागेका हुन् ।
चैत ८ गते माइतीघर मण्डलामा हुने उक्त आन्दोलनमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन, अखिल नेपाल प्रगतिशील किसान संघको सहभागिता रहने छ ।
नेपालको कृषि क्षेत्रलाई विदेशी तथा दलाल पूँजीपतिको हातमा जान र परनिर्भरताबाट बचाउन आन्दोलनको घोषणा गर्नुपरेको ६ वटा किसान संगठनले आज जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय कृषि तथा स्वदेशी किसानहरुको संरक्षणका लागि सरकारले ठोस नीति बनाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
विदेशी तरकारी, कुखुरा, अण्डा, खसीबोका र पशुपन्छीको आयातमा रोक लगाउनुपर्ने, खाद्यान्न, तरकारी र फलफूलमा विषादी परीक्षण गर्नुपर्ने, रासायनिक मलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, दीर्घकालीन योजना बनाएर खेतीको समयमा रासायनिक मलको अभाव हुने अवस्था सँधैका लागि अन्त्य गर्नुपर्ने किसानहरुको माग छ ।
आगामी १० वर्षमा मुलुकमा रासायनिक मलबिना खेती गर्न सकिने गरी प्राङ्गारिक मल र दिगो कृषिलाई प्रवर्द्धन गर्न, कालोबजारी रोक्न, सुपथ मूल्य पसलहरु सञ्चालन गर्न पनि आग्रह गरिएको छ । जारी विज्ञप्तिमा लघुवित्त र सहकारीहरुले गैरकानुनी र चक्रीय ब्याज प्रणालीमा लिइरहेको कोरोनाकालदेखि हालसम्मको सम्पूर्ण ब्याज र हर्जाना मिनाहा गर्न पनि माग गरिएको छ ।
टिप्पणीहरू