ममतालाई कम ठान्ने कुन माननीय ?

ममतालाई कम ठान्ने कुन माननीय ?

चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनले एकै चरणमा परिणाम देला कि नदेला ? यसै भन्न सकिने अवस्था छैन । ‘मित्रवत् प्रतिस्पर्धा’ भन्दै सत्तारुढ गठबन्धनभित्रैबाट उम्मेदवारी दिएकी र अहिलेको प्रभावकारी सामाजिक सञ्जाल टिकटकमा सक्रिय ममता झा कमजोर उम्मेदवार हैनन्, तर चुनाव जित्न मत ल्याउने अवस्था पनि छैन । उनले धेरै गरिन् भने रामसहायलाई जित्नका लागि आवश्यक पर्ने ५० प्रतिशत मत कट्न नदिनेमा भूमिका खेल्न सक्छिन् । त्यो भनेको पहिलो चरणबाट सबभन्दा कम मत ल्याउनेको उम्मेदवारी निस्क्रिय भई बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान हुने अवस्था हो ।

त्यसपछि पनि प्रतिस्पर्धा ‘मित्रवत्’ नै रहे त ठीकै होला, ‘शत्रुवत’ मा परिणत भइदियो र ममतापक्षीय मतदाता सत्ता गठबन्धनप्रति नकारात्मक भइदिए भने रामचन्द्र पौडेलले १७ चोटि प्रधानमन्त्रीको चुनाव हारेको इतिहास कम्तीमा एक पटकलाई नहोदोरिएला भन्न सकिँदैन । यद्यपि, सरकार गठन नभइसकेको र अनेकन सम्भावना जीवित रहेको अवस्थामा ममतालाई उम्मेदवार बनाउने सत्ता गठबन्धनका अन्य घटकले त्यहाँसम्मका खेल नखेल्लान् भन्ने देखिन्छ ।

ममता ०४७/०४८ सालदेखि नै नेपाली राजनीतिमा प्रभावशाली मानिन्छिन् । सद्भावना पार्टीमा थिइन् । त्यही पार्टीका अरु नेताले गजेन्द्रनारायण सिंहजस्ता त्यागी र सादगी नेतासँग बात लगाएर पार्टीमा टिक्न दिएनन् । त्यसपछि ०५६ सालको चुनावमा एमालेबाट सप्तरी– १ मा उम्मेदवार भइन्, हारिन् । त्यो चुनाव जयप्रकाश गुप्ताले जिते, मालेका जगदिश कुसियैत र ममताको भोट काटाकाट भयो । नत्र, उनले जित्ने थिइन् । त्यसपछि उपेन्द्र यादवको मधेसी फोरमतिर लागिन् । फोरमले उनलाई सांसद, मन्त्री बनाएन । किनभने, उनलाई केही बनाउनुपर्दा रेणु यादवलाई पछाडि पार्नुपर्ने हुन्थ्यो, जुन उपेन्द्र यादवबाट सम्भव थिएन । त्यसैले फोरमले कृषि तथा सहकारी मन्त्रालय पाएको बेला उनलाई साझा प्रकाशनको महाप्रवन्धक बनाइयो ।

त्यहाँबाट भ्रष्टाचार मुद्दा लागेर निकालिइन् । उक्त मुद्दामा विशेष अदालतबाट सफाई लिइसकेकी छन् । अहिले पनि ६० वर्ष कटेकी उनी ४०/४२ जस्तो देखिन्छिन् । भनिन्छ, उनको जादुमयी व्यक्तित्वले केही फरक दलका मान्यहरू तिर्मिराउँदा बढी मत ल्याउन सक्छिन् । यसो भयो भने रामसहायको २४/२५ हजार मतभार आयो र अष्टलक्ष्मी १५/१६ हजारमा रहिन् भने पुनः मतदान हुन्छ । त्यसपछि बल्ल ममतालाई आएका मत रामसहायलाई जाने र जित्ने स्थिति बन्न सक्छ ।

उता, रामसहायको उम्मेदवारी बदर होला भन्ने एमालेदेखि ममता झाहरूसम्मको अनुमानविपरीत अन्ततः निर्वाचन अधिकृत तोकिएका पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले कायम हुने निर्णय गरेका छन् । त्यसअघि निर्वाचन आयोगले ‘फरक लिंग वा समुदाय’ भन्दै महिलाको उम्मेदवारीमात्र दर्ता हुने आशय व्यक्त गरेको थियो । त्यही लयमा न्यायाधीशले काम नगरिदिँदा आयोगको जिकिर खेर गएको छ । 

टिप्पणीहरू