काठमाडौंमा शुरु भयो बिआरआइको अनुभव सम्बन्धी सम्मेलन
चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को अनुभव र उपलब्धिबारे काठमाडौंमा छलफल थालिएको छ । कार्यक्रम बिआरआई स्थापनाको १० वर्षको उपलक्ष्यमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको हो ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथि हुनुुहुन्छ । एमाले उपमहासचिव प्रदीप ज्ञवाली,नेपालका लागि चिनियाँ राजदूत छन सोङ,चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याललगायत विशिष्ट अधिकारीहरुको कार्यक्रममा उपस्थिति रहेको छ ।
बिआरआइमा विश्वका १५१ राष्ट्र र ३२ वटा अन्तर्राष्ट्रिय संघ संस्था आवद्ध भइसकेका छन् । तीन वर्षसम्मको कोरोना महामारीका बाबजुद पनि आगामी पाँच वर्षभित्र विश्वमा चिनियाँ लगानी २७ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ ।
नेपाल पनि बिआरआइको सदस्य राष्ट्र बनेको छ । सिमाना जोडिएकाले नेपाल विश्वव्यापी कार्यक्रममा विशेषगरी व्यापार, भौतिक पूर्वाधारको विकास र सडकलगायत विभिन्न मार्गबाट जोडिन सक्ने अवस्था बन्दै गएको छ ।
सोही सन्दर्भमा नेपाल र चीनका नीति निर्माता, विज्ञ,अनुसन्धानकर्ता, निजी क्षेत्र र अन्य सम्बन्धी सबैसँग बिआरआइको १० वर्षमा नेपालको उपलब्धीबारे छलफल गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
यसले नेपालमा ल्याउने थप अवसर,मुलुकको आर्थिक तथा सामाजिक विकासलगायत विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गरिने बताइएको छ ।
टिप्पणीहरू