उपमहानगरका कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा रोकिँदा वार्षिक चार करोड बचत

उपमहानगरका कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा रोकिँदा वार्षिक चार करोड बचत

इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने भएको छ । अस्ति शुक्रबार बसेको कार्यपालिकाको १२८ औं बैठकले उक्त निर्णय गरेको हो । 

नगर प्रमुख हेमकर्ण पौडेलले प्रशासनिक खर्च घटाउनका लागि कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार खाजा भत्ता र १० लिटर इन्धन सुविधा आगामी चैत १ गतेदेखि नदिने जानकारी गराए । उनले भने, ‘यसअघि पनि महालेखा परीक्षकको कार्यालयले खाजा खर्च कटौती गर्न उपमहानगरपालिकालाई सुझाव दिदैँ आएको थियो । तर, सो सुझाव हालसम्म कार्यान्वयनमा आएको थिएन ।’

उनले थपे, ‘हामीले सोही सुझावलाई ध्यानमा राखी कर्मचारीको खाजा खर्च र इन्धन सुविधा कटौती गरी बरु त्यो रकम नगरको विकासका लागि प्रयोजना गर्ने भनेका हौँ ।’

नगरप्रमुख पौडेलका अनुसार उपमहानगरपालिकामा साढे चार सयभन्दा बढी कर्मचारी कार्यरत छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख रुपैयाँ खर्च हुदैँ आएको थियो । त्यस्तै, इन्धन सुविधा कटौती गर्दा भने वर्षको एक करोड सात लाख रुपैयाँ जोगिने उनको भनाई छ ।

टिप्पणीहरू