उपराष्ट्रपतिको उम्मेदवार छान्न सत्तारुढ गठबन्धनका नेताहरु सिंहदरबारमा

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनमा महिलाको मात्रै उम्मेदवारी दर्ता गर्ने आशयसहितको निर्णय सार्वजनिक गरेपछि सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा बसेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपति दिएर रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारीमा रहेका गठबन्धनका नेताहरु आयोगको निर्णयले दबाबमा परेपछि छलफलमा जुटेका हुन् । गठबन्धनको कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
उपराष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन भोलिका लागि तोकिएको छ । त्यसको पूर्वसन्ध्यामा आयोगले उम्मेदवारको योग्यतासम्बन्धी संविधानको व्यवस्थालाई थप प्रष्ट पार्दै नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपति पदको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
राष्ट्रपतिमा गठबन्धनबाटै साझा उम्मेदवार बनेका रामचन्द्र पौडेल निर्वाचित भएकोले उपराष्ट्रपतिको उम्मेदवार महिला बनाउनुपर्ने नैतिक दबाबसमेत गठबन्धनलाई छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्ने उल्लेख छ ।
टिप्पणीहरू