राष्ट्रपतिमा भोट हालेलगत्तै उपेन्द्रले बैठक बोलाए

राष्ट्रपतिमा भोट हालेलगत्तै उपेन्द्रले बैठक बोलाए

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै बस्नेगरी बैठक डाकिएको हो ।  

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि अपरान्ह ३ बजे बस्नेगरी बैठक आह्वान गरिएको जसपाले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।

आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपाको भागमा परेको चर्चा छ । पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष उपेन्द्र यादवले आफ्ना विश्वासपात्र सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी गरेका छन् । 

बारा–२ का सांसद रामसहायलाई उपराष्ट्रपति बनाएर उक्त क्षेत्र खाली गराउने र उपचुनावमा उपेन्द्र आफैं उम्मेदवार बन्नेगरी गठबन्धनमा कुरा मिलिसकेको बताइन्छ ।

टिप्पणीहरू