गठबन्धनमा फाटो आउन नदिने सल्लाह भएको छ : लिङ्गदेन

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिका विषयमा सत्ता साझेदार दलबीच विवाद नरहेको दावी गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे कुनै मतभेद नरहेको प्रतिक्रिया दिएका हुन् । 

गत १० पुसमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेको भागमा परेको भनिएको छ । तर, माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेपछि एमालेपंक्ति सशंकित देखिन्छ । उच्चस्तरीय संयन्त्रको संयोजकसमेत रहेका एमाले अध्यक्ष र प्रधानमन्त्रीबीच यसबारे दैनिकजसो छलफल भैरहेको छ । 

यही विषयमा छलफल गर्न बसेको संयन्त्रको बैठकपछि उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले राष्ट्रपतिबारे विवाद नरहेको दाबी गरेका हुन् । उनले गठबन्धनमा फाटो आउन नदिने समझदारी जुटेको पनि जानकारी दिए ।

टिप्पणीहरू