नेपाली क्रिकेट सिकाउने जिम्मा भारतका देसाइलाई

नेपाली क्रिकेट सिकाउने जिम्मा भारतका देसाइलाई

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरेको छ ।  

केही दिनदेखि टिमको प्रशिक्षण सम्हालिरहेका उनलाई औपचारिक रुपमा प्रशिक्षक नियुक्त गरिएको बताइएको छ । तर राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृतिको पत्र आइनसकेकाले क्यानले औपचारिक घोषणा भने गरिसकेको छैन ।

भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी देसाईसँग लामो प्रशिक्षण अनुभव छ । वेष्ट इन्डिज, अफगानिस्तान, यूएई, क्यानडाको ब्याटिङ प्रशिक्षण सम्हालेका उनले सँगै भारतीय घरेलु क्रिकेटमा पनि काम गरेका छन् । 

यसअघि नेपाली टिममा पनि उनले ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन् । आगामी साता घरेलु मैदानमा हुन लागेको लिग–२ को खेललाई लक्षित गर्दै क्यानले देसाईलाई प्रशिक्षक बनाएको हो । 

यसअघिका प्रशिक्षक मनोज प्रभाकरले गत मंसिरमा सम्झौता विपरीत बिचैमा राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन भएको थियो ।

टिप्पणीहरू