बैठकअगाडि नै नोकझोक चलेपछि रास्वपा बैठकमा मोबाइल बन्देज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने भनिएको छ । तर,बैठक बस्नुअघि नै नेताहरुबीच यसै विषयलाई लिएर चर्काचर्की परेपछि हिजोजस्तै 'टालटुले' निर्णय गरेर बैठक टुंगिनसक्ने अनुमान गरिएको छ ।  

गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान लिइरहेका सभापति रवि लामिछाने आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डले सीधा भाषामा 'तपाईंलाई सरकारमा लैजान सकिन्न,तपाईंको पार्टीबाट अरु आउने हो भने विकल्प दिनुस्' भनेपछि लामिछाने त्यहाँबाट रिसाएर एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए । 

बालुवाटार र बालकोटमा सभापतिको भेट र त्यहाँ भएका छलफलबारे प्रवक्ता मुकुल ढकालले बैठकका लागि भेला हुँदै गरेका केन्द्रीय सदस्यहरुलाई अनौपचारिक जानकारी गराइरहेका थिए । ब्रिफिङका क्रममा उनले सरकार छोड्नपर्ने परिस्थिति आउनसक्ने बताएपछि सांसदद्वय विराजभक्त श्रेष्ठ र सोविता गौतमले तत्कालै असन्तुष्टि जनाइहाले । सरकारमा जाने र एक महिनामै बाहिरिने निर्णयको औचित्य सिध्द गर्नुपर्ने भन्दै उनीहरुले आपत्ति जनाएपछि बैठकस्थल बाहिरै लामो गलफत्ती  चल्यो । 

एउटा व्यक्तिका लागि सरकारमा जाने र फर्किने आलोकाचो निर्णयले बाहिर राम्रो सन्देश नजाने भन्दै नेताहरुले कडिकडाउ कुरा गरेपछि केहीबेर नोकझोक पारेको थियो । त्यसपछि सबैलाई मोबाइल बाहिरै राखेर बैठकमा प्रवेश गर्न माथिबाट उर्दी आयो । सबै सदस्यले आफ्नो मोबाइल बाहिरै राखेर बैठकमा बसेका छन् भने तल प्रेस मिटका लागि तयारी गरिएको छ ।

टिप्पणीहरू