एकै दिन कति काम

एकै दिन कति काम

साँच्चै गर्ने हो भने मान्छेले धेरै काम गर्न सक्छन् । जस्तो कि भर्खरै सांसद पदबाट खोसिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछोनलाई नै लिनोस् । उहाँ त कामै गर्छु भनेर राजनीतिमा आउनुभएको हो । अरु पार्टीहरूले काम गरेनन्, अब आफै गर्छु भनेर आउनुभएको हो । काम गर्छु भनेर आएपछि त कामै गर्ने हो । अरु गर्न पाइँदैन । अब रवि लामिछानेले गरेको कामको रफ्तार हेर्नोस् त ।

सर्वोच्च अदालतले उहाँको नागरिकता खारेज गरिदियो । तर खारेज गरे पनि कोही बात छैन । उहाँ आइतबार बिहानै सिडिओ कार्यालय गएर नयाँ नागरिकता लिनुभयो । अस्तिसम्म सिडिओ उहाँको कार्यालयमा जाने गर्दथे । त्यो दिनचाहिँ लामिछाने आफै सिडिओ कार्यालय जानुभयो । उहाँ कार्यालय जानेबित्तिकै नागरिकता पनि हात लाग्यो । धन्न, नागरिकता लिन उहाँ सिडिओ कार्यालयसम्म जानु परेन । होइन भने सीडीओ आफै नागरिकता बोकेर उहाँको घरमा जानुपर्ने अवस्था हुन्थ्यो । 

उहाँले नागरिकता लिनुभयो । त्यसपछि उही दिन पार्टीको बैठक बसेर आफूलाई पुनः अध्यक्ष घोषणा गर्न लगाउनुभयो । फेरि उही दिन र मंगलबार फेरि पनि प्रधानमन्त्रीलाई भेटेर आफूलाई गृहमन्त्री नै बनाइदिनु भनी अनुरोध पनि गर्न जानुभयो । एकै दिन कति धेरै काम हेर्नोस् त । काम गर्ने मान्छेले यतिसम्म गर्न सक्छ । नसक्नेले यति गर्न पनि हप्तौं लगाउँछ ।
 

टिप्पणीहरू