पैसाको पहाड र मारवाडीहरूको पकड

पैसाको पहाड र मारवाडीहरूको पकड

ऋण दिने (बैंकर) उही, ऋण लिने (व्यवसायी) पनि उही । सर्वसाधारणले समयमा कर्जा नतिर्दा वा किस्ता बुझाउन नसक्दा उसको जिन्सी सम्पत्ति खाइदिने र तीन पुस्ते विवरण छाप्ने बैंकले आफ्नै साहुजीले समयमा ऋण नतिर्दा एक्सन लिएर तीनपुस्ते छाप्न सक्छन् त ? पक्कै सक्दैनन् ।

३२ बाट वाणिज्य बैंकको संख्या घटेर २२ मा आइपुग्यो तर सीमित घरानाकै कब्जाबाट उम्कन सकेको छैन नेपालको बैंकिङ क्षेत्र । नेपालको अर्थतन्त्र बिटुलिनुका अनेक कारणमध्ये एक यही हो भन्दै छन् अर्थ मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरू ! को बैंकर, को व्यवसायी खुट्टिन गाह्रो छ । भाटभटेनीका साहु मीनबहादुर गुरुङदेखि चन्द्र ढकाल, विनोद चौधरी, राजेन्द्र खेतान, रामचन्द्र संघाई जस्ता चार दर्जन व्यापारी छन्, जो बैंकरका साथै व्यवसायी पनि हुन् ।

नबिल बैंकका ठूला शेयरधनीमध्ये विनोद चौधरीका छोरा निर्वाण र बरुणलाई देखाइएको छ । उनीहरूको लगानी नरहेको क्षेत्र नै छैन । सामाजिक सेवाअन्तर्गत मानिने शिक्षा, स्वास्थ्य, हस्पिटालिटी, हाउजिङ जताततै लगानी छ । बैंक र बिमासमेत एउटै समूहले चलाएर स्वार्थ बाझिने काम गर्नमा अग्रपंक्तिमै पर्छ, चौधरी ग्रुप ।

सरकारसँग जोडिएर बदनामीमा आउने विशाल ग्रुपकै लगानीमा चलिरहेको छ एनआइसी एसिया बैंक । त्यहाँका ठूला शेयरधनीमा गनिन्छन्, रामचन्द्र संघाई, लोकमान्य गोल्छा, जगदिशप्रसाद अग्रवाल, तुलसीराम अग्रवालसम्म । यिनैले अरु व्यवसाय पनि चलाउँछन् ।

राजेन्द्र खेतान समूहको लगानी लक्ष्मी, नेपाल बैंकदेखि हिमालयनसम्म भेटिन्छ । लक्ष्मी बैंकका १६ ठूला शेयरधनीमध्ये ५० प्रतिशत बढी शेयर मारवाडी व्यापारीसँगै छ । लक्ष्मी कर्पको १४.६०, स्नेहा र सारिका खेतान, रतनलाल संघई, राजेन्द्रकुमार खेतान, पूजा खेतानदेखि दीपककुमार मल्होत्रासम्मको शेयर स्वामित्व त्यसमा रहेको देखिन्छ ।

मोतीलाल दुगडले सनराइज बैंक त चलाएकै थिए । उनको लगानी कुमारीदेखि प्राइम बैंकसम्म भेटिन्छ । सनराइजमा ३१ ठूला शेयरधनीमध्ये मोतीलाल र उनका भाइ मालचन्द्र दुगडकै ठूलो लगानी छ । त्यहाँ साल्ट ट्रेडिङ कर्पोरेशनको ०.९० प्रतिशत र राष्ट्रिय बिमा संस्थानको ०.५७ प्रतिशत शेयर स्वामित्वबाहेक अधिकांश मारवाडीकै लगानी छ ।

यता, हालै स्वार्थ बाझिने गरी बैंकका साहुजीहरूको अध्यक्ष र सिइओहरूको अध्यक्ष एउटैले हात पारेको छ, एनएमबी । साहु अध्यक्षको भूमिकामा छन् एनएमबीका पवन गोल्यान र सिइओहरूको अध्यक्ष छन् त्यहीँका सुनिल केसी । सो बैंकमा ठूला १६ शेयरधनी रहेकामा नन्दकिशोर राठी, सुनिल कुमार गोशाली, पवनकुमार गोल्यान, सन्तोष देवी मुरारका, पुरुषोत्तमलाल संघाई, पशुपति मुरारकादेखि सन्तोष राठी, दिनबन्धु अग्रवाल ठूला मारवाडी शेयरधनी हुन् । एनआरएनले सानिमा र माछापुच्छ्रे बैंकको अलावा सानिमा क्यापिटलमा समेत लगानी गरेको देखिन्छ ।

यस्तै मारवाडीको अर्काे बैंक सिद्धार्थका ठूला शेयरधनीमा शशी अग्रवाल, नरेन्द्रकुमार अग्रवाल, रतनलाल केडिया, हिरालाल केडिया, सविता केडिया, चिरञ्जीवीलाल अग्रवालदेखि पवनकुमार अग्रवाल, सुरेशकुमार रुँगटा, शशीकला अग्रवालसम्म पनि रहेको भेटिन्छ । प्रभु बैंकका ठूला २२ शेयरधनीमध्ये गौरव अग्रवालहरू घुसेका छन् । त्यहाँ मनोज राठीदेखि पवनकुमार अग्रवाल– शिवम सिमेन्ट, गणपति वनस्पति उद्योगसम्मले शेयरधनीका रूपमा प्रवेश पाएका छन् । सिभिल बैंकमा प्रभाव गोयन्का छन् भने प्र्राइम बैंकमा अधिकांश नेवार समुदायको प्रभुत्व देखिए पनि त्यहाँ समेत सुशिल मित्तल, मनोहर दास मोरलगायत रहेका छन् । यस्तै विदेशी लगानीको स्टयाण्डर्ड चार्टर्डमा नेपालीको २९.७९ शेयर स्वामित्व रहेकोमा ५ जना अग्रवाल थरका मारवाडी छन् ।

अहिले बैंक, बिमा हुँदै लघुवित्तसम्म मारवाडी व्यापारीको चंगुलमा छ । तिनैले नीति, नियम बनाउने, आफूअनुकूलको सुविधा घुसाउने भएपछि राज्यबाट घोषित रूपमै सर्वसाधारण चुसिने र यस्तै सीमित समूह वा वर्ग मात्र पोसिने खतरा रहेको बताइन्छ । यस्तै दुर्दशा देखेरै होला स्वदेशमै उद्यम व्यवसाय गरेर खान खोज्ने प्रेम आचार्यहरूले आत्मदाहको बाटो रोज्नुपरेको !

टिप्पणीहरू