भट्टका अरु नै पैसा इधरउधर भेटिएपछि

भट्टका अरु नै पैसा इधरउधर भेटिएपछि

नेपाल प्रहरीले खरिद गर्न लागेको अत्याधुनिक हतियारको बजेट निकासा, विदेशीलाई मिलाउने वचन, कमिसन र भुक्तानी प्रक्रिया सम्बन्धमा स्पाइ क्यामेराबाट गरिएको बिचौलिया दिपक भट्टको संवाद रेकर्ड गत असारमा वर्षौंपछि एकाएक सार्वजनिक भएसँगै घटनाक्रमले नयाँ मोड लिएको छ । त्यसबेला उनले हतियार खरिदमा लाखौं डलरको बदमासी हुने किटानीसहित सोको निम्ति अपनाइएका प्रक्रियाबारे सगर्व रहस्य खुलाएका थिए । इटालीको बेरेट्टा कम्पनीबाट खरिद गर्न लागिएका ती हतियारको मूल्य प्रचलित भाउभन्दा प्रति थान चार गुणा बढीमा ल्याउने उनको प्रपञ्च थियो । 

सेना, प्रहरी, सशस्त्रको जुत्तादेखि हतियारसम्म र राशनदेखि आसनसम्म खरिद र दलालीको काम गर्दै आएका उनीमाथि विभिन्न निकायले पछिल्ला दिनमा निगरानी बढाउँदै लगेका थिए । तर, विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग विशेष सम्बन्ध कायम राख्दै आएका भट्टले त्यही आडमा एकपछि अर्को बदमासी गर्न छाडेनन् । हुँदाहुँदा हेलिकोप्टरको ४० करोड कमिसन र ठुल्ठूला परियोजनाको पेटी ठेक्कातिर पनि मज्जैले हात लाउन थाले ।

चालु आर्थिक वर्षको बजेटमा पनि सरकारले प्रहरीको निम्ति इटालीबाट विभिन्न किसिमका हतियार, रबरका गोली र टियर ग्यास खरिद गर्न अर्बौं बजेट छुट्याएको थियो । तर विदेशी मुद्राको सञ्चिति घटेपछि उक्त खरिदबारे चर्को आलोचना भयो । यता प्रहरीले झण्डै ९ वर्षदेखि हतियार खरिद नगरेकाले कुनै हालतमा किन्नुपर्ने भन्दै स्वयम् अर्थमन्त्री जनार्दन शर्मा प्रहरीभन्दा एक कदम अघि बढेर लागिपरे ।

अन्ततः त्यही भिडियो रेकर्ड नै दीपक भट्ट र उनको कारोबार निशानामा पर्ने अचुक प्रमाण भइदियो । लगत्तै राष्ट्र बैंकस्थित फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआइयु) ले निकै गम्भिरताका साथ ‘म सबैतिर मिलाउँछु, केही फरक पर्दैन’ भन्ने उनको चुनौतीलाई नोटिसमा लिएको बताइन्छ । स्रोतको दाबी छ, ‘प्रहरीको हतियार खरिदमा हुनसक्ने भ्रष्टाचार र यसअघिका कमिसनको खेलबारे चासो राख्दै एफआइयु अगाडि बढ्दै जाँदा त अरु अरु काण्ड पो फुतुफुतु फेला पर्न थाले ।’

भट्ट, उनको कम्पनी र केही नातेदारको खातामाथि विशेष निगरानी राष्ट्र बैंकको बैंक सुपरीवेक्षणले भने गर्न सकेको देखिएन । यसक्रममा एफआइयुले भट्टका धेरै रकम अन्यत्र कम्पनीमा ट्रान्सफर हुने गरेको र उनको खातामा समेत त्यसैगरी प्राप्त भएपछि संवेदनशील अनुसन्धान थप अघि बढायो । त्यसअघि नै ५० लाख रूपैयाँ सीमा रहेको ओडी खाताबाट ४४ करोडसम्म झिकेको, अन्यत्रबाट उनको खातामा रकम बारम्बार हालिएको पाइएपछि सबै कारोबार केलाउन थालियो । सोही क्रममा दीपकले डेढ वर्षअघि जगदम्बा स्टिल कम्पनीमा ४५ करोड रूपैयाँ जम्मा गरेको तर जगदम्बाको वासलातमा त्यो रकम नदेखिएको विवरण भेटिनाले अझ शंका बढ्यो । ‘४० देखि ४५ करोड उनले धेरै पटक ट्रान्सफर गर्दा पनि सम्बन्धित बैंकले आधिकारिक रूपमा कहिल्यै केन्द्रीय बैंक र एफआइयुलाई जानकारी गराएको देखिएन,’ स्रोतले जनआस्थालाई बतायो । 

अधिकांश कारोबार उनले सिद्धार्थ बैंकको हात्तिसारस्थित मुख्य कार्यालयमा रहेको खाताबाट गरेको पाइएको छ । सिद्धार्थको उच्च व्यवस्थापन नै भटट्को सेवामा तन, मनले समर्पित भएको देखिएपछि शंकास्पद कारोबारको सबै विवरण तल्ला तहका कर्मचारीले नै केन्द्रीय बैंकमा पठाइदिएका थिए । 

यसरी प्राप्त विवरणलाई एफआइयुले झण्डै छ महिना लगाएर मिहीन ढंगले केलाएको थियो । ‘अनुसन्धानबाट सबै हिसाबले भट्टका अधिकांश कारोबार शंकास्पद देखिन आयो,’ केन्द्रीय बैंक स्रोतले भन्यो । विशेषगरी विदेशबाट भिœयाइएका कुस्त रकम विभिन्न च्यानलबाट आफ्ना र कम्पनीका बैंक खातामा नियमित जम्मा गर्न लगाएको पाइएपछि बल्ल सबै विवरण खुलाएर आवश्यक कारबाहीको निम्ति एफआइयुले सम्पत्ति शुद्धिकरण विभागलाई पत्राचार गरेको हो । तर प्रधानमन्त्री कार्यालय मातहत रहेको उक्त विभागले केपी ओली र आरजू राण सत्तामा रहुञ्जेल ‘प्रभावशाली’ भट्टमाथि कारबाही गर्ने आँट नदेखाएपछि देउवा सरकार जाने र प्रचण्डको नयाँ सरकार आउने संक्रमणकाल पारेर एफआईयुले ती सारा प्रमाण आवश्यक पर्दा सम्बन्धित ठाउँमा देखाउन सुरक्षितसँग राखेको थियो ।

यता, सिद्धार्थ बैंकका केही कर्मचारीले आफ्नो कारोबार, बैंक खाता विवरण र अन्य जानकारी एफआइयुलाई जानकारी गराएको भन्दै भट्ट क्रुद्ध बनेको बताइन्छ । ओडी खाताको सीमाभन्दा धेरै रकम प्रयोग गर्न दिइएको, शंकास्पद कारोबार र रकमबारे सिद्धार्थ बैंकको उच्च व्यवस्थापनले केन्द्रीय बैंक र एफआइयुलाई इमानदारितापूर्वका जानकारी नगराएकोमा भने राष्ट्र बैंक कारवाहीको लागि अग्रसर भएको स्रोतको दाबी छ ।

 

टिप्पणीहरू