नेपाल टी-२० लिगको उपाधि लुम्बिनीलाई

नेपाल टी-२० लिगको उपाधि लुम्बिनीलाई

पहिलोपटक आयोजना भएको जारी नेपाल टी२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । भर्खरै सम्पन्न फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । उसका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए । अर्का ओपनर गौरान्सु शर्मा ४ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल खाता नै नखोली आउट हुँदा हुसेन तलातले १३ रन बनाए । मुस्किल अवस्थामा क्रिजमा आएका पृथु बास्कोटाले ३१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९.२ ओभरमा अलआउट भएकाे थियाे । लुम्बिनीको जितमा ओपनरद्वय हरमित सिंह र लाहिरु मिलन्थाले उत्कृष्ट योगदान गरे । दुबैले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । हरमित ३० र लाहिरु ४१ रनमा आउट भए । उच्च योगफल बनाउन चुकेको लुम्बिनी उत्कृष्ट बलिङ्ग गर्दै उपाधि रक्षा गर्न सफल भयो । 

उपाधि बिजेता लुम्बिनीले ५० लाख रुपैयाँ प्राप्त गरेको छ । १३ खेल खेल्दा ६ मा हार ब्यहोरेको उपविजेता विराटनगरले ३० लाख हात पार्यो । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएको छ ।

टिप्पणीहरू