सेतो हात्ती नबनोस् पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सेतो हात्ती नबनोस् पोखरा अन्तर्राष्ट्रिय विमानस्थल – विराट अनुपम

२०७२ साल वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विमानस्थल सात वर्षपछि निर्माण भएर सञ्चालनमा आएको छ । आइतबार (पुस १७)मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गरेका छन् । सात वर्षअघि शिलान्यास हुँदा प्रचण्डको समर्थनमा ओली प्रधानमन्त्री थिए । उद्घाटन गर्दा ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका छन् । 

२२ अर्ब हाराहारी लगानीमा बनेको यो विमानस्थल अहिलेको आन्तरिक विमानस्थलभन्दा तीन किलोमिटर पूर्वमा छ । ४५ मीटर चौडाइ र २५०० मीटर लम्बाइको रनवे भएको विमानस्थलमा एयरबस ए ३२०, बोइङ ७३७–७०० सिरिज र बोइङ ७५७–२०० आदि विमानले व्यावसायिक रूपमा उडान गर्न सक्ने भनिएको छ । हिमालयन एयरलाइन्सले सफलतापूर्वक उडान भरेर उद्घाटन भएको अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध, श्री, यती र गुण एयरलाइन्सले काम थाल्ने इच्छा जाहेर गरेका छन् ।

चिनियाँ ऋण र चिनियाँ कम्पनीको ठेक्कामा निर्माण भएको यो विमानस्थललाई मूलतः पर्यटन क्षेत्रको विकासको एक माइलस्टोनको रूपमा व्याख्या गर्न थालिएको छ । पोखराका स्थानीयले चार दशकदेखिको सपना पूरा भएको भन्दै भावुक अभिव्यक्ति सामाजिक सञ्जालमा पोखेका छन् । अर्थमन्त्री विष्णु पौडेलदेखि प्रधानमन्त्री प्रचण्डसम्मले देशको तेस्रो विमानस्थलले नेपालको समग्र विकासमा केही टेवा पु¥याउने अर्थमा व्याख्या गर्न थालेका छन् । कमल थापाले त राजा वीरेन्द्रको सपना थियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भनेरसम्म भन्न भ्याइसकेका छन् । 

तर, सरकारी अधिकारीदेखि अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा जोडिएका सरोकारवालाले भनेजस्तो पोखरा विमानस्थलले सोचेजस्तो प्रगति गर्ने कुरामा धेरैले शंका गरेका छन् । यस्तो शंका गर्नेमा एक हुन् नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी । उनले शनिवार (पुस १६) मा बोर्डकै अडिटोरियम हलको कार्यक्रममा पोखरा विमानस्थल भैरहवाजस्तो नहोस् भनेर टिप्पणी गरे । बुद्धको जन्मभूमिमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दा बुद्ध मान्ने देशहरूबाट धेरै उडान हुने आशा गरिएको तर त्यस्तो नभएको संकेत गर्दै रेग्मीले पोखरामा पनि त्यस्तै हुन सक्ने तर्क गरे । रेग्मीको तर्कमा केही आधार छन् । जस्तो ः पोखरा भनेको अन्नपूर्ण क्षेत्र र अरु धेरै गण्डकी प्रदेशका हिमाली क्षेत्रमा जाने गेटवे टाउन हो ।

यहाँ जानेहरूले पोखरा नपुगी हुन्न । त्यसका लागि पोखरामा स्तरीय विमानस्थल आवश्यक हुनु जायज छ । तर, अन्तर्राष्ट्रिय विमानस्थल बनाउनै पर्ने तर्कमा भने रिजल्ट आवश्यक छ । पोखरा मूलतः भारतीय र चिनियाँ पर्यटकको भीड हुने गन्तव्य बन्दै गएको छ । यो पक्षलाई ब्रान्डिङ गरेर पोखरामा भारत र चीनका धेरै पर्यटकले उडान गर्ने तर्क सोच्न आवश्यक छ । चीनको ऋण र चिनियाँ कम्पनीकै ठेक्कामा बनेको विमानस्थलमा चीनका शहरबाट पर्यटक ल्याउने गरी सिधा पोखरा उडान गर्न सरकारले कूटनीतिक पहल र प्रचार गर्न आवश्यक छ ।  भारतका केही शहरमा उडान गरेको अनुभव भएको नेपालको बुद्ध एयरलाई मात्रै होइन भारतबाट भारतीय विमान कम्पनीहरूबाट सिधा पोखरा उडान गर्न थप गृहकार्य हुनैपर्छ । 

आइकाओको कालोसूचीले गर्दा नेपालबाट सिधा युरोप उडान हुन सकिरहेको छैन । नेपालले युरोप छिर्न एशियाका अन्य गन्तव्यबाट ट्रान्जिट भएर जाने बाध्यता छ । पोखरा मूलतः साहसिक पर्यटन र हिमाल पर्यटनको गेटवे भएकाले त्यसको स्रोत क्षेत्र युरोप, अमेरिका नै हुन् । त्यहाँका पर्यटकलाई सिधै पोखरामा उतार्न यो विमानस्थललाई भरपुर प्रयोग गर्नतर्फ सरकारले ध्यान दिन जरुरी छ । 

सात महिनाअगाडि नेपाल उडान गर्ने टर्किस एयरलाइन्सका जेनेरल म्यानेजर अब्दुल्लाले नेपाल आउनेलाई सरकारले सहुलियत दिएमा मात्रै अन्तर्राष्ट्रिय उडान सहज हुने बताएका थिए । तर, उनले यो पनि भनेका थिए कि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वाइडबडी जहाजका निम्ति होइन । त्यही कारण त्यहाँ उडान गर्दा नाफा हुन्न । नेपालमा जहाजको इन्धन महँगो र अन्य शुल्क पनि महँगो भएको भन्ने उनले वाइड बडी चल्न नसक्ने विमानस्थललाई समस्या हुने तर्क गरेका थिए । भैरहवा विमानस्थलमा भने वाइडबडी चल्ने भएकाले सहज हुने उनको तर्क थियो । 

पोखरामा प्याराग्याइडिङ, हटएयर बलुनदेखि अल्ट्रालाइट सञ्चालकले अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि आफ्नो व्यवसायमा तनाव थपिएको भन्दै आएका छन् । पोखराका मानक साहसिक पर्यटकीय गतिविधिलाई धरापमा पारेर भन्दा थप विकास गरेर कसरी जाने भन्नेबारे सरोकारवालाले समयमै सोच्न आवश्यक छ । 

नेपाल पर्यटन बोर्डका सिइओदेखि नेपाल उडानको अनुभव भएको टर्किस एयरलाइन्सका जिएमसम्म पोखराको अन्तर्राष्ट्रिय उडानको व्यावसायिक सफलताको आशामा देखिएका छैनन् । नेपाली पर्यटनदेखि अन्तर्राष्ट्रिय उडानका जानकारहरूले यसो भनिरहँदा अब नेपाली अधिकारीहरूमाथि यसलाई सफल बनाएर देखाउने चुनौती थपिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक र पर्यटकीय सफलताको लागि सरकारले देखिने काम ल्याउनुपर्छ । २२ अर्ब बढी जनताको करको पैसाले बनेको परियोजनाबाट जनतालाई अनुभूति हुने खालको रिजल्ट नदेखिँदा चौतर्फी आलोचना आउन सक्छ । सेतो हात्ती परियोजना भनेर विरोध हुन सक्छ । यो सम्भावित समस्यालाई चिर्न सम्बन्धित सबैले समयमै सोच्न जरुरी छ ।
 

टिप्पणीहरू