नेपालले अर्जेन्टिना र ब्राजिलसँग खेल कूटनीति कहिले गर्ने?

नेपालले अर्जेन्टिना र ब्राजिलसँग खेल कूटनीति कहिले गर्ने? – विराट अनुपम

आइतबार मध्यरातदेखि कतारमा भएको विश्वकप फुटबल समापन भएको छ । तर, विश्वकप फुटबलबारे गन्थन र मन्थन भने सकिएका छैनन् । बरु थप प्रसंगहरू शुरु भएका छन् । मेस्सी नेतृत्वको अर्जेन्टिनाले जिते मेस्सी म्यारोडोनाको लहरमा इतिहासमा रहने र फ्रान्सका एम्बापेले लगालग दुई विश्वकप २३ वर्षको उमेरकै समयमा जिताए पेलेको स्तरमा पुग्नेजस्तै भएको थियो फाइनल खेल । मेस्सीले बाजी मार्न सफल भए । अब त मेस्सीलाई म्याराडोनाभन्दा महान् भन्ने तर्कहरू आउन थालेका छन् । मेस्सीले फाइनलमा दुई गोल गरेको तर म्याराडोनाले गोल नगरेको, विश्वकपमा पेलेको बराबर १२ गोल पु¥याएको र विश्वकपका हरेक चरणमा मेस्सीले गोल गरेको तर म्याराडोनाले नगरेकोजस्ता तर्कले मेस्सी म्याराडोनाभन्दा महान् भएको भन्न थालिएको छ । सधँै जित्ने टिमको रूपमा हेरिएको तर नकआउट चरणमा पुगेपछि सन् २००२ पछि घरि फ्रान्स, घरि नेदरल्याण्ड, घरि बेल्जियम त घरी क्रोएसियाबाट पाखा लगाइएको ब्राजिलका विमर्शहरू पनि फुटबल बजारमा तातिएका छन् । यो नियति प्रक्रियाजस्तै भएको छ । 

यो सामग्रीमा भने विश्वकपको लेखाजोखा भन्दा नेपालले ल्याटिन अमेरिकासँग गर्न सक्ने खेल कूटनीतिको चर्चा गरिएको छ । ल्याटिन अमेरिकाका पनि अर्जेन्टिना र ब्राजिलसँग नेपालले खेल कूटनीति कसरी गर्ने भन्ने सामान्य चर्चा यहाँ गर्न खोजिएको छ । यस्तो लाग्छ कि संसारमा सबै देशका आ–आफ्ना फुटबल टिम छन् । आ–आफ्ना फुटबल क्लब छन् । तर, अर्जेन्टिना र ब्राजिलको हकमा भने उनीहरू देशका मात्रै टिम हैनन् । विश्वभरका टिम हुन् । उनीहरूकै देशको जनसंख्याभन्दा धेरै समर्थक विश्वभरबाट छन् । मेस्सी र क्रिश्चियानो रोनाल्डोको व्यक्तिगत ब्राण्ड पनि अर्जेन्टिना र ब्राजिलको राष्ट्रिय ब्राण्ड तहकै छ । नेपालका फुटबल समर्थक हेर्दा अर्जेन्टिना र ब्राजिलका दुई तिहाइ बढी भएको सहजै अनुमान गर्न सकिन्छ । अर्जेन्टिना र ब्राजिल देशहरूको त्यो स्तरको क्रेज हुनुमा उनीहरूको महान् फुटबल संस्कृति हो । महान् फुटबल खेलाडी भएको बिरासत हो । र, सबैभन्दा महत्वपूर्ण उनीहरूले विभिन्न पुस्ताको समयमा जितेका तारकातार विश्वकप उपाधि हुन् । 

अर्जेन्टिना र ब्राजिलको यही फुटबल बिरासतलाई नेपालले खेल कूटनीतिबाट जोड्न सक्छ । नेपालमा यी दुई देशका समर्थक व्यापक छन् । उनीहरूप्रतिको सकारात्मक प्रभाव व्यापक छ । यी कुरालाई आधार बनाएर कूटनीतिक पहल गरी अर्जेन्टिना र ब्राजिलसँग खेल कूटनीति गर्न सकिन्छ । खेलमा पनि फुटबल कूटनीति गर्न सकिन्छ । नेपाली राष्ट्रिय पुरुष वा महिला टोली वा उमेर समूहका विभिन्न टोलीका निम्ति अर्जेन्टिना वा ब्राजिलका स्तरीय प्रशिक्षक ल्याउनतर्फ सरकारले आफ्नो कूटनीतिक प्रयोग गर्न सक्छ । फुटबल संस्कृति र बिरासतले भरिभराउ यी देशका स्तरीय प्रशिक्षक ल्याउन र नेपाली फुटबललाई उकास्न नेपालले सक्रिय भूमिका निभाउन सक्छ ।

नेपालले आफ्नो कूटनीतिक च्यानल प्रयोग गरेर राम्रो दक्षता भएको क्षेत्रमा अर्जेन्टिना वा ब्राजिललाई सहयोग गर्ने । र, फुटबलमा ती देशहरूले नेपाललाई सहयोग गर्ने तौरतरिका अपनाएर दुवैलाई हितकर कूटनीति गर्न सकिन्छ । जस्तै नेपालका हिमाल गाइड शेर्पाहरूले ती देशमा उच्च पहाड चढ्ने प्रशिक्षण गराउने र नेपाललाई ती देशले फुटबल प्रशिक्षक उपलब्ध गराउने । विश्वका अग्ला चुचुरा चढ्न माहिर नेपाली शेर्पा पाउँदा अर्जेन्टिना र ब्राजिलको उच्च शिखर चढ्ने जनशक्तिको स्तरीयता बढ्न सक्छ । यस्तै, फुटबल संस्कृति र विरासतका धनी अर्जेन्टिना र ब्राजिलका प्रशिक्षकले गरेको फुटबल प्रशिक्षणले नेपालको फुटबल क्षेत्रमा केही राहत हुन सक्छ । 

शेर्पा र फुटबल प्रशिक्षक आदानप्रदानको सबैभन्दा राम्रो कूटनीति अर्जेन्टिनासँग हुन सक्छ । नेपालमा विश्वको सर्वाेच्च शिखर सगरमाथा छ । अर्जेन्टिनामा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो शिखर आकोन्कागुआ छ । आकोन्कागुआको उचाइ झण्डै सात हजार मीटर छ । अर्जेन्टिनामा अरु नामकरण भएका हजारौँ चुली छन् । त्यहाँ चढ्ने उच्च दक्ष जनशक्तिमा अर्जेन्टिनाभन्दा नेपाल धनी छ । नेपालका शेर्पाहरू धनी छन् । हिमाल आरोहणमा जोडिएका निर्मल पुर्जाजस्ता गैर शेर्पा आरोहीमा पनि नेपाल धनी छ । यो जनशक्तिलाई खेल कूटनीतिमा सदुपयोग गर्न सकिन्छ । सन् १९६२ जनवरी १ (२०१८ पुस १८) मा कूटनीतिक सम्बन्ध जोडिएको हो नेपाल र अर्जेन्टिनाको । यद्यपि, अहिलेसम्म नेपालको दूतावास अर्जेन्टिनामा स्थापना हुन सकेको छैन । विश्वका २० प्रमुख अर्थतन्त्रको क्लब जी २० को सदस्य अर्जेन्टिनाको पनि दूतावास नेपालमा छैन । दूतावास नभए पनि नेपालले आफ्नो गैरआवासीय दूतावासमार्फत यसतर्फ कदम चाल्न आवश्यक छ । अर्जेन्टिनाको राष्ट्रिय दिवस मे २५ मा पर्छ । त्यो हिमाल आरोहण हुने पिक मौसम पनि हो । यही मौकामा यो कोणको कूटनीतिक कदम बढाउन सकिन्छ । 

ब्राजिलसँग फुटबल कूटनीति गर्न सजिलो छ । किनभने नेपालको दूतावास त्यहाँ छ । सन् १९७६ फेब्रुअरी ७ (२०३२ माघ २४) मा औपचारिक कूटनीतिक सम्बन्ध बनेको हो । कूटनीतिक नियोग भएकाले ब्राजिलसँग खेल कूटनीति गर्न ब्राजिलस्थित हाम्रा दूतावास सक्रिय हुन आवश्यक छ । ब्रासिलियामा रहेका ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले यसतर्फ भूमिका निभाउन सक्छन् । परराष्ट्र मन्त्रालयमा युरोप र अमेरिका भिडिजन प्रमुख भइसकेका सहसचिव काफ्लेले योतर्फ कूटनीतिक चातुर्यता देखाउन सक्छन् । 

अर्जेन्टिना र ब्राजिलमा शेर्पा मात्र होइन, दुई देश जोड्ने जुनसुकै अन्य सेतु खोजेर पनि खेल कूटनीति गर्न सकिन्छ । त्यसका लागि नेपालको परराष्ट्र मन्त्रालयमा बलिया कर्मचारी र त्यसलाई साथ दिने सहयोगी राजनीतिक नेतृत्वको आवश्यकता छ । नागरिक तहबाट त स्वतः सहयोग हुन्छ । नेपालले लिने मात्रै हैन दिने पनि गर्न यस खालको कूटनीतिक अभ्यास आवश्यक छ । विश्वकप हालसालै भएको पृष्ठभूमि नेपालको अर्जेन्टिना र ब्राजिलसँगको खेल कूटनीतिमा एक सुन्दर प्रस्थान बिन्दु हुन सक्छ ।
 

टिप्पणीहरू