खिलराजको नाम यस्तरी उछालिनुको कारण खुलासा

खिलराजको नाम यस्तरी उछालिनुको कारण खुलासा

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुँदै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई पालैपालो भेटघाट गरे । कुनै पनि दलको एकल बहुमत नआएको अवस्थामा भारतीय राजदूतको दौडधुपको प्रष्ट सन्देश थियो - नेपालमा आफू अनुकूलको सरकार बनाउने ।  यहाँको सत्ता राजनीतिमा प्रत्यक्ष चासो राख्ने गरेको भारत वामपन्थीहरुलाई विभाजनमै राखेर गठबन्धन सरकार चाहन्छ भन्ने श्रीवास्तवको भेटघाटले संकेत गरिसकेको छ । 

निर्वाचन आयोगले हिजो बिहीबार राष्ट्रपतिलाई चुनावी परिणामसहितको प्रतिवेदन बुझाइसकेकाले ढिलोमा आगामी सोमवारसम्ममा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने देखिन्छ । राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम छिट्टै सरकार गठनका लागि आव्हान गर्ने तयारी गरिसकेको शीतल निवास स्रोतले बताएको छ । त्यसकारण अबको एक साताभित्रमा सत्ता समीकरणको प्रष्ट चित्र आइसक्नेछ । ०७४ मा पनि फागुन २ गते चुनाव परिणामको रिपोर्ट बुझाएर ३ गतेबाटै सरकार गठन प्रक्रिया शुरु भएको थियो ।

योसँगै भावी सत्ता समीकरण र मुलुकका 'टप फाइभ' पदको छिनोफानो कसरी हुन्छ भन्ने विषयमा आम चासो र चर्चा हुन थालेको छ । काँग्रेस नेतृत्वको सत्ताधारी गठबन्धन र एमालेको प्रतिपक्षी खेमा दुवैसँग बहुमत नभएकाले सरकार बनाउन 'भ्यागुताको धार्नी' पुर्याउनु पर्ने बाध्यता त छँदैछ,साथै घरेलु राजनीतिले मात्रै सबै कुराको निर्धारण गर्दैन भन्ने टिप्पणीहरु पनि आउन थालेका छन् । राष्ट्रपतिमा खिलराज रेग्मीको चर्चा बाह्य शक्ति केन्द्रको स्वार्थकै प्रतिविम्ब हो भन्नेसम्मका कुराहरु आइरहेका छन् ।

"अरुलाई तर्साएर आफू ढुक्कसङ्ग प्रधानमन्त्री बन्नलाई सुनियोजित रुपमा खिलराजको नाम चर्चामा ल्याइएको हो,राष्ट्रपति बनाउन होइन भन्ने धेरैको विश्लेषण छ ।" 

मूलत: तीन वटा कारणले सुनियोजित रुपमा खिलराजको नाम चर्चामा ल्याइएको हो,राष्ट्रपति बनाउन होइन भन्ने धेरैको विश्लेषण छ । उच्च जानकार स्रोतका अनुसार वामपन्थी इतरको सरकार बनाउने सुनियोजित योजनाअन्तर्गत भारतीय दूतावासले 'खिलराज कार्ड' फ्याँकेको हो । त्यसमा काँग्रेसको गगन समूहलाई 'साइजमा' राख्ने रणनीतिक स्वार्थ पनि जोडिएको छ । शेरबहादुर देउवालाई राष्ट्रपतिमा धकेलेर आफैँ प्रधानमन्त्री हुने गगन थापाको प्रयास छ । चुनावअघि नै आफूलाई प्रधानमन्त्री घोषणा गरेका थापालाई कांग्रेसले संसदीय दलको नेता चयन गर्ने सम्भावना भने निकै कम देखिन्छ । 

गगन समूहलाई आफू प्रधानमन्त्रीको बलियो दावेदार रहेको देखाउन देउवाले राष्ट्रपतिमा खिलराजको नाम बाहिर ल्याएको हुनसक्ने कांग्रेसका एक नेताले बताए । विगतमा समेत भारतीयहरुकै समर्थनमा मन्त्रिपरिषदको अध्यक्ष बनेका खिलराजलाई अहिले पनि लैनचौरको समर्थन रहेको ती नेताले दावी गरे । 

सत्ता गठबन्धनका अन्य दलहरुको बुझाइ भने अर्कै छ । काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै आफ्नो पोल्टामा पार्न खिलराजलाई अघि सारेको एकीकृत समाजवादीका एक नेताले आशंका गरे । राष्ट्रपति र प्रधानमन्त्री एउटै दलबाट हुँदा आफूले चाहेजस्तो काम गर्न सकिने भएकाले स्वतन्त्रका नाममा आफू अनुकूलका पात्रलाई चर्चामा ल्याइएको हुनसक्छ', उनले भने । तर,विगतमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारी हुँदा राष्ट्रपति कार्यालयको भूमिकाप्रति सन्तुष्ट नरहेका गठबन्धनका अन्य दलहरु कांग्रेसले चाहेजस्तो हुन नदिनेमा एक मत छन् । 

"केही राजनीतिक विश्लेषकले चैं खिलराजलाई उचालेर डा.बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने खेल चलिरहेको दावी गरेका छन् ।"

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति स्वीकार गर्न नसकिने भन्दै त्यसको प्रष्ट संकेत गरिसकेका छन् । मुलुकको सबैभन्दा माथिल्लो पदमा गैरराजनीतिक व्यक्तिलाई लैजाने कुरा वैचारिक रुपले पनि गलत हुने उनको भनाई छ । गैरराजनीतिक पृष्ठभूमिको पात्रलाई राष्ट्रपति बनाउने पछिल्लो चर्चालाई गुरुङ्गले राष्ट्रियतासँग जोडेका छन् ।   

तर,कतिपयले भने माओवादी र प्रचण्डलाई देखाइदिन खोजेको अर्थमा पनि यसलाई व्याख्या गरेका छन् । छैठौँ पटक देशको प्रधानमन्त्री हुने दौडमा रहेका शेरबहादुर देउवाको बाटोमा अहिले दुई जना चुनौतीका रुपमा उभिएका छन् । एउटा, गगन थापा । अर्को पुष्पकमल दाहाल प्रचण्ड । गगनलाई संसदीय दलमै रोक्न सकिनेमा देउवा ढुक्क छन् । जसरी पनि प्रधानमन्त्री बन्ने ध्याउन्नमा रहेका प्रचण्डलाई भने सजिलै रोक्न सकिने अवस्था नरहेको देउवाको हिसाब  छ । त्यसैले प्रधानमन्त्रीमा आफूलाई एमालेको समर्थन रहने त्रास देखाएर दुवै जना एकले अर्कालाई गलाउने प्रयासमा देखिन्छन् । राष्ट्रपतिमा गैरराजनीतिक पात्रको चर्चा चलाइनुको पछाडि प्रचण्डलाई दवाबमा राखेर प्रधानमन्त्री दावी गरिरहे माओवादीलाई राष्ट्रपति पनि नदिने देउवाले दिएको प्रष्ट सन्देश हो भन्नेहरु पनि छन् ।  

'प्रचण्डलाई प्रधानमन्त्री बनाउन किन भोट हाल्ने भन्ने मनोविज्ञान कांग्रेसका कार्यकर्तामा देखियो, त्यसैले चुनावअघि नै अध्यक्षले आफूलाई प्रधानमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गर्नु गलत भयो भन्ने हो'

प्रचण्डले चुनावअघि नै आफूलाई भावी प्रधानमन्त्रीमा प्रचार गरेकाले परिणाम प्रतिकूल आएको माओवादी नेताहरुको बुझाई छ । 'प्रचण्डलाई प्रधानमन्त्री बनाउन किन भोट हाल्ने भन्ने मनोविज्ञान कांग्रेसका कार्यकर्तामा देखियो, त्यसैले चुनावअघि नै अध्यक्षले आफूलाई प्रधानमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गर्नु गलत भयो भन्ने हो', एक नेताले भने । अहिले पनि प्रचण्डले सार्वजनिक मन्चबाट प्रधानमन्त्रीको दावी दोहोर्याउँदा परिस्थिति बिग्रिनसक्ने उनको चिन्ता छ । 

केही राजनीतिक विश्लेषकले चैं खिलराजलाई उचालेर डा. बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने खेल चलिरहेको दावी गरेका छन् । पूर्वप्रधानन्यायाधीशलाई राष्ट्रपति बन्न संविधानले नै निषेध गरेको छ । संविधानअनुसार सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश वा पूर्वन्यायाधीशले मानवअधिकार आयोगबाहेक अरु कुनै पनि संवैधानिक तथा सार्वजनिक संस्थाको नेतृत्व गर्न मिल्दैन । त्यसैले यो प्रकरणलाई बालुवाटार र लैनचौरले 'नाँग्लो ठटाएर हात्ती तर्साएको' बाहेक केही होइन भन्नेहरु धेरै छन् ।

टिप्पणीहरू