पैसा उठाउँदा उठाउँदै प्रहरीहरु पक्राउ

पैसा उठाउँदा उठाउँदै प्रहरीहरु पक्राउ

अनियमितता रोक्ने, अवैध कार्यलाई निरुत्साहन गर्ने र सर्वसाधारणको सुरुक्षालाई केन्द्र विन्दुमा राख्नुपर्ने प्रहरीहरु नै अनियमित धन्दामा पक्राउ पर्न थालेका छन् । नवलपरासीको बर्दघाट र दक्षिणी सीमा क्षेत्रमा खटिएका दुई जना प्रहरीलाई घुस लिएको बखत रंगेहात समातिएको छ ।

आज पक्राउ परेका जवानमा सन्दिप धवल र दीपेन्द्र रजक हुन् । उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले पक्रेको हो । पक्राउपछि पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा लगिँदैछ । ‘जवानहरुलाई जवानहरुले नै पक्रेका हुन्,’ प्रहरी स्रोतले बतायो ।

दोषी देखिएका जवान धवल यसअघि त्यस्तै काण्डमा बर्खास्त भएका थिए । तर अहिले भर्खर डिआइजी नलप्रसाद उपाध्यायको पहलमा उनको जागीर थमौती भएको हो । थमौतीपछि पुरानै ठाउँमा उठ्तीको निम्ति गएको बेला जनताले समातेका हुन् । 

त्यहाँका एसपी ऋषि कँडेल हुन् । माथिको दबाबमा ऋषिले उनीहरुलाई छाड्न सक्ने भन्दै नवलपरासीका प्रहरी सशंकित भएका छन् । बर्दघाटमा यसअघि इन्स्पेक्टर कपिल ज्ञवाली सडकमा गाडीले हानेर मारिएका थिए । मोबाइल तस्करीलगायत विभिन्न काण्डमा मुछिएकै बेला गाडीले हान्दा बितेका हुन् । 

पछि प्रहरीले गरेको अनुसन्धानबाट धवलले तस्करीका रकम ज्ञवालीलाई बुझाउने गरेको तथ्य खुलेको थियो । कानुन पढेका डिआईजी मुकुन्द आचार्य र नयाँ दिल्लीबाट आएका डिआइजी प्रकाश अधिकारीले उनलाई पुनर्वहाली गर्न मानेका थिएनन् । 

तर अहिले  पुनर्बहालीपछि दक्षिणी बोर्डरमा धवल र रजकलाई रकम उठाउने कार्यमा पठाइएको थियो । यसरी सबै तथ्यबाट दोषी प्रमाणित भएकालाई थमौति,रकम उठ्तीमा पहिलेको स्थानमा खटन गर्नुलाई चुनाव खर्च उठाएको सङ्ग जोडिएको छ ।

टिप्पणीहरू