जहाँ खानेपानी निःशुल्क नै गरिएको छ

जहाँ खानेपानी निःशुल्क नै गरिएको छ

    विकास र समृद्धिमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरकै नमूना शहर बनाउन लागिएको भरतपुर महानगरपालिकामा झन् मान्छेको जिन्दगानी जोडिएको खानेपानीमा ध्यान नदिइएको वा केही गर्न नखोजिएको होला त ? सम्पूर्ण महानगरवासीलाई स्वच्छ, सफा खानेपानीको सुविधा पु¥याउँदै त्यसमा सहुलियत पनि दिन भरतपुर महानगरपालिका लागिपरेको छ । पहिलो कार्यकालमा जनताको मन जित्ने काम गरेर युवानेत्री रेनु दाहाल महानगरको मेयरमा पुनः निर्वाचित भएलगत्तै गरिएको पहिलो दुई महत्वपूर्ण निर्णयमध्ये एउटा खानेपानीमा सहुलियत दिने नै थियो, जुन यही मंसिरबाट लागु हुने गरी अस्ति (बुधबार) महानगरपालिका र यहाँका खानेपानी सेवादायक संस्थाहरुबीच सम्झौतासमेत सम्पन्न भएको छ । 
    महानगरपालिकाकी अधिकृत कर्मचारी अनिता श्रेष्ठले बताएअनुसार महानगर प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दैगर्दा २०७९ जेठ ११ गते घोषणा गरेको यो निर्णय जेठ २६ गते कार्यपालिकाको ६७ औं बैठकबाट अनुमोदन भएको थियो । यसका लागि असार ३१ गते कार्यविधि बनाएर भदौमा सम्झौताको ड्राफ्ट तयार गरिएको भरतपुर महानगरपालिकाकी अर्की अधिकृत कर्मचारी जानुका केसीले बताइन् ।       
    अब भरतपुरमा मासिक सात हजार लिटरसम्मको खानेपानी निःशुल्क उपभोग गर्न पाइन्छ । ‘यो ४÷५ जनाको परिवारका लागि पर्याप्त हो’, भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भने । भरतपुरमा स्वच्छ, सफा खानेपानी वितरणको मुख्य जिम्मेवार निकाय भरतपुर खानेपानी व्यवस्थापन बोर्ड नै हो । महानगर प्रमुख रेनु दाहाल अध्यक्ष रहेको यस बोर्ड र अन्य उपभोक्ता संस्थासमेत गरी चालु अवस्थामा १० वटा सेवादायक रहेको महानगरपालिकाले जनाएको छ । अब हरेक महिना सात युनिटसम्म खानेपानी उपभोग गर्ने महानगरवासीको पैसा महानगरपालिकाले नै उनीहरुलाई दिनेछ । उपभोक्ता ग्राहकले तिर्नुपर्दैन । 
    खासगरी विपन्न, गरीब जनसमुदायलाई लक्षित गरी यो निर्णय गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । महानगरपालिकाको आन्तरिक आय तथा स्रोतले भ्याएसम्म आगामी दिनमा १०÷१२ हजार लिटरसम्म पनि निःशुल्क बनाउन सकिने उनले बताएकी छिन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका ३५ हजार ग्राहक मध्ये मासिक ७००० लिटरभित्र उपभोग गर्ने ग्राहक संख्या ८–१० हजार रहेको बोर्डका प्रशासन शाखा प्रमुख सञ्जय बरालले जानकारी दिए । मेघौली, गोलाघाट, पार्वतीपुर, गुन्जनगर, जगतपुर केरुड्डा लगायतका सम्पूर्ण खानेपानी उपभोक्ता संस्थासमेत गरी हालसम्म ४५ हजार दुईसय ३३ वटा धारा जडान भएको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरे बताउँछन् । अझै ४७ हजार ५० वटा धारा जडान हुने क्रममा रहेको जानकारी उनले दिए । उनका अनुसार शुक्रनगर, अमृत, शारदानगर, ढोडेनी उपभोक्ता संस्था निर्माणाधीन अवस्थामा छन् । ठिमुरामा पनि छ । रामनगरमा पनि नभएको होइन । 
    चितवनको क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रवि लामिछानेले स्थानीय सरकारलाई ओभरटेक गरेर महानगरपालिकासित कुनै समन्वय नगरी रामनगरको खानेपानीमा देखाएको उपस्थितिले भरतपुर महानगरपालिकाले काम नगरेको चित्रण गरेको वा गर्न खोजिएको होला । तर यथार्थ त्यस्तो होइन । रामनगरको आफ्नै कथा–व्यथा छ । कुनै बेला यहाँ पानीको छेलोखेलो थियो । जुगेडी खोलाबाट जापान सरकारको सहयोगमा बनेको खानेपानी संरचनाले रामनगर, जुगेडी, ठिमुरा र नारायणगढ बजारलाई पनि पुगेको थियो । २४ सै घन्टा पानी आउँथ्यो । तर यहाँको खानेपानीमा एकाएक दैव लाग्यो । २०५८–२०६० तिर आएको बाढी–पहिरोले पूरै संरचना भत्काएर क्षतविक्षत पारिदिएपछि रामनगरमा खानेपानीको हाराहार भएकै थियो । त्यसपछि यहाँका बासिन्दाले घर–घरमा इनार खन्न थाले । अहिले पनि प्रत्येकजसो घरमा इनार रहेको स्थानीय बताउँछन् । 
    यसबीचमा टोड्के खोलाबाट पनि खानेपानीको प्रबन्ध मिलाएर उपभोक्ताहरुको धारासम्म ल्याइएको छ । रामनगर खानेपानी उपभोक्ता समितिले त्यसको रेखदेख गरिरहेछ । तर त्यो पर्याप्त छैन नै । बस्ती बढ्दै जाँदा अहिले त दिनको १–२ घन्टामात्रै पानी आउँछ । धारामा थप पानीको जोहो गर्न भरतपुर महानगरपालिकाकै लगानीमा रामनगर र बागेश्वरीबीचको जंगलमा रहेको ढ्यांग्रे खोलामा इन्टेकसहित संकलन ट्यांकी निर्माण गरी अबको १–२ महिनाभित्रै पानी वितरण गरिँदैछ । गत वर्ष डिप बोरिङको प्रयास पनि भएकै हो तर त्यो सफल भएन, पर्याप्त पानी आएन । यहाँ क्षणिक वा अल्पकालीन होइन दीर्घकालीन समाधान आवश्यक हो ।
    त्यसका लागि रामनगर, जुगेडी, ठिमुरा र नारायणगढ बजार क्षेत्रलाई समेत समेट्ने गरी भरतपुर महानगरपालिकाको पहलमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गतको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत् ठूलै काम हुँदैछ । विगत एक वर्षदेखि सम्भाव्यता अध्ययन, प्रारम्भिक खर्च अनुमान र विस्तृत सर्भेक्षणको काम भई विस्तृत डिजाइन प्रतिवेदन लगभग तयारी हुने अवस्थामा रहेको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल बताउँछन् । 
     उनका अनुसार यस आयोजनाको सर्भेक्षण, डिजाइन स्टिमेट लगायतका प्राविधिक पक्षहरु अध्ययन गर्न भारतीय कम्पनी वाप्कोस र नेपाली कन्सल्टेन्टले समेत संयुक्त रुपमा जिम्मा लिएर काम गर्दैछन्, जुगेडी खोलाको मुहानलाई स्रोतको रुपमा प्रयोग गरेर रामनगरको डाँडामा रिजर्भर ट्यांकी निर्माण गरी खानेपानी वितरण गर्ने योजना हो यो, २०८० असार सम्म अन्तिम प्रतिवेदन तयार गर्ने तरखर छ । ‘परामर्शदाताको टोलीले सर्भेक्षण थालिसकेको छ’, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख सुन्दर सुवेदीले भने, ‘यो ठूलो प्रोजेक्ट अगाडि बढ्छ, बढ्छ ।’ भरतपुरसहित हेटौैंडा, वीरगंज, जनकपुर, विराटनगर, धरान लगायत देशका १२ वटा सिटीहरुमा एकीकृत खानेपानीका यी ठूला आयोजना अगाडि बढेको जानकारी उनले दिए । यसैगरी, शहरी विकास अन्तर्गत समेत भरतपुर महानगरपालिकामा खानेपानीका दर्जनौं आयोजनाहरु सञ्चालनमा रहेको महानगर प्रमुख रेनु दाहाल बताउँछिन् । उनी भन्छिन्, ‘अबको दुई वर्षभित्र भरतपुरमा सबैले स्वच्छ, सफा खानेपानी पाउनेछन् ।’ 

    
 

टिप्पणीहरू