चीन र पाकिस्तानलाई ग्रिनसिग्नल

चीन र पाकिस्तानलाई ग्रिनसिग्नल

तीन हप्ताअगाडि नै एग्रिमो स्वीकृतिका लागि नाम पठाइएका चिनियाँ र पाकिस्तानी राजदूतलाई ग्रिनसिग्नल दिने फाइल शुक्रबार परराष्ट्र मन्त्रीबाट सदर भएको छ । अन्तिम प्रक्रियाको निम्ति फाइल प्रधानमन्त्री कार्यालयमा पठाइएको र मंसिर २९ सम्ममा नेपाल आइपुग्न दुवै देशलाई खबरसमेत गरिसकिएको स्रोतले बतायो । नेपालबाट विभिन्न देशमा राजदूत पठाउन अहिल्यै कतै ठाउँ खाली छैन । यसैबीच, एक वर्षपछिको निम्ति तयारी शुरु भएको छ । 

परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकोल रेवतीरमण पौडेल दिल्लीस्थित दूतावासमा पुगेका छन् । त्यहाँबाट सहसचिवमा बढुवा भएका डिसिएम रामप्रसाद सुवेदी काठमाडौँ फर्किएका सार्क मुलुक हेर्ने साउथ एसिया महाशाखाको जिम्मेवारी सम्हाल्ने थलोमा छन् । 

यीसँगै साउदीबाट दिलिप पौडेल, कुवेतबाट प्रकाशमणि पौडेल, पेरिसबाट खड्ग दाहाल फर्किएका छन् । यी तीन जना अब सहसचिवमा बढुवा हुने करिब निश्चित छ । अलिक छिटो बढुवा गरिएको भए आनन्द शर्मा पर्थे । तर, माघमा उनको जागिर सकिँदै छ । यसपछि रीता धितालको बढुवा हुने सम्भावना छ । 

परराष्ट्रका क्याडेटमध्येबाट राजदूत खाली हुनेचाहिँ अर्को वर्ष मात्रै हो । क्यानाडा, दुबई, कुवेत, बैंकक, फ्रान्स, न्यूयोर्क, जेनेभा यी सबैमा ‘करिअरिष्ट’ अर्थात् परराष्ट्र सेवाका कर्मचारीबाट राजदूत हुन जानेछन् । 
 

टिप्पणीहरू