गाउँसभा बस्न नसक्दा डडुवाका कर्मचारीले तलब पाएनन्

गाउँसभा बस्न नसक्दा डडुवाका कर्मचारीले तलब पाएनन्

स्थानीय तहको निर्वाचन भएको ६ महिना बितिसक्दा पनि बाँकेको डुडुवा गाउँपालिकाले एकपटक पनि गाउँसभाको बैठक सञ्चालन गर्न सकेको छैन् । गाउँसभाको बैठक बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ भने कर्मचारीहरुले गत साउनदेखि तलबभत्ता र चाडपर्व खर्चसमेत पाएका छैनन् । 

गाउँसभाले समयमै बजेट ल्याउन नसक्दा स्थानीयहरु गाउँपालिकाबाट पाउनुपर्ने सेवाबाट वञ्चित भएको स्थानीयको गुनासो छ । राजनीतिक किचलोले गर्दा गाउँसभा बस्न नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । 

गाउँसभाको बैठक नबस्दा यसको असर सेवामा पर्न थालेको उनको भनाइ छ । स्वास्थ्यचौकीमा सिटामोलसमेत नभएको उनले जानकारी दिए । ‘गाउँसभा नबस्दा सम्पूर्ण सेवा ठप्प छ’, पौडेलले भने,‘साउनदेखि तलब पाएका छैनौं, आज भोलि गर्दै कुरेर बसिराखेका छौं ।’ 

गाउँपालिकाले पटक-पटक गाउँसभाको बैठक बोलाएपनि विभिन्न कारणले रोकिने गरेको छ । कहिले सदस्य अपुग भएर त कहिले बीचमै विवाद हुने गरेको बताइन्छ ।

टिप्पणीहरू