रातारात सारियो प्रदेश राजधानी,ओसारिए ट्रकका ट्रक सामान

रातारात सारियो प्रदेश राजधानी,ओसारिए ट्रकका ट्रक  सामान

 स्थायी पूर्वाधार नबनिकन राजधानी नसार्न सुझाव आइरहेका बेला मुख्यमन्त्री कुलप्रसाद केसी तीन दिन अगाडिदेखि नै कार्यालय सार्ने सुरसारमा थिए । यसवीच रुपन्देहीका विभिन्न राजनीतिक दलले विज्ञप्ती निकालेर अनुरोध गरे पनि रातारात बुटवलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरू दाङ पुर्याइएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार केसीले अब बन्ने पहिलो क्याबिनेट बैठक दाङ्गमै राख्नेगरी तयारी भएको स्रोतले बताएको छ ।

स्थायी पूर्वाधार बनाएर मात्र मन्त्रालयहरू दाङ्ग लैजाने भनिए पनि छापामार शैलीमा तीन वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ पुर्याइएको हो ।  यसअघि नेपाली काँग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो । नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरू लीला गिरी,भूमिश्वर ढकाल,भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले पनि प्रेस विज्ञप्ती जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्तै रोक्न माग गरेका थिए । गृहमन्त्री बालकृष्ण खाँणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेत समेत गराएका थिए ।

टिप्पणीहरू