रवि लामिछानेविरुद्ध आयोगमा उजुरी, कारबाहीको माग

रवि लामिछानेविरुद्ध आयोगमा उजुरी, कारबाहीको माग

प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ ।  नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो । 

सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले आज आयोगमा उजुर दर्ता गराएका हुन् । 

लामिछानेसंग नेपाली नागरिकता नै नभएको भन्दै उनले पार्टीको सभापति र सो दलको साधारण सदस्यता तत्काल खारेज गर्न भनेका छन् । दल दर्ता गर्न पाउने अधिकार नेपाली नागरिकसंग मात्र भएको स्मरण गराउँदै उनले आयोगबाट भएको त्रुटिले स्तब्ध बनाएको बताएका छन् । 

‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन पाउने अधिकार नेपाली नागरिकसंग मात्रै हुने कानुनी व्यवस्थाविपरीत नेपाली नागरिक नै नभएको रवि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगबाट हुन गएको त्रुटिबाट म स्तब्ध छु’,पत्रमा भनिएको छ । 

मतदान गर्ने,उम्मेदवार बन्ने र राजनीतिक दल खोल्ने अधिकार नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन,प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन तथा प्रदेश सभा सदस्य निर्वाचन ऐनअन्तर्गत नेपाली नागरिकलाई मात्रै प्रदान गरिएको उनको भनाइ छ । 

लामिछानेले आयोगलाई भ्रममा पारेर राजनीतिक पद प्राप्त गरेको उजुरी पत्रमा उल्लेख छ । उनले दल दर्ता गर्दा प्रयोग गरेको नागरिकता निज अमेरिकी नागरिक हुनुपूर्वको भएको बताउँदै पौडेलले कारबाहीको प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । 

अनागरिक,गैर नागरिक वा विदेशीका हातमा मुलुकको राजनीतिक सत्ता,कानुन बनाउने निकाय संसद र राजनीतिको बागडोर पुग्दा सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रियता नै समाप्त हुने खतरा उत्पन्न हुने पौडेलको ठम्याई छ ।

टिप्पणीहरू