तीन वर्ष आईसियूमा बसेर अधमरै स्वदेश फर्किए २६ वर्षीय पन्त

तीन वर्ष आईसियूमा बसेर अधमरै स्वदेश फर्किए २६ वर्षीय पन्त

वैदेशिक रोजगारकै क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएका काभे्रपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका–१ का २६ वर्षीय सुवाष पन्तको अधमरो शरीर थप उपचारको निम्ति नेपाल ल्याइएको छ । कारले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई दुबइस्थित शेख रसिद अस्पतालको आईसियूमा भर्ना गरेर उपचार गरिएको थियो ।

उनी कम्पनीको बिहानी ड्युटी समाप्त गरेर साइकल चढी होस्टेल फर्किने क्रममा सन् २०२० जनवरी ३ तारिखका दिन दुर्घटनामा परेका थिए । दुर्घटनाको सूचना प्राप्त भएपछि त्यहीं १४ वर्षदेखि कार्यरत आजामन सरकारी कम्पनीको पब्लिक ट्रान्सपोर्टमा कार्यरत सिन्धुपाल्चोक मेलम्ची १५ घर भई हाल काठमाडौं बस्दै आएका पशुपति शर्माले उपचारार्थ सहयोग जुटाएका थिए ।

आईसियू कक्षमा अवस्था एकदमै नाजुक भएको र तत्काल होस फर्किने सम्भावना पनि नभएको सूचना चिकित्सकले दिएपछि नेपालबाट हेरचाह गर्न गएका काका सोम पन्त पनि हतास भई फर्किएका थिए । फर्किने बेलामा उनले अभिभावकत्व ग्रहण गरी बिरामीको उपचारका सिलसिलामा गर्नुपर्ने सबै काम गर्न अख्तियारसमेत दिएका थिए । १८ महिना जति उपचाररत रहेपछि अवस्थामा केही सुधार आएकाले थप उपचारको निम्ति थम्बे युनिभर्सिटी अस्पताल आजामन लगिएको थियो । त्यस अस्पतालमा केही वर्ष राखेको र सन् २०२२ अक्टोबरमा उनलाई नेपाल ल्याइएको छ ।

उपचार र नेपाल ल्याउनका लागि काठमाडौं दरबार रेस्टुरेण्टका सञ्चालक एवं एनआरएनका केन्द्रीय सदस्य वेदप्रसाद पोखेरल, थम्बे अस्पतालका फिजियोथेरापिस्ट डा. कृष्ण र राजेन्द्र भट्टराई, समाजसेवी श्रीमती सरु सुवेदी, राजेन्द्र भण्डारी र सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीहरूले सहयोग गरेका थिए । यस्तै अन्य धेरै मनकारीको सहयोगमा युवा पन्त अधमरो हालतमै भए पनि स्वदेश फर्किन सफल भएका छन् । उनलाई नेपाल ल्याइएपछि रेखदेख र उपचारमा संलग्न र सबै सहयोगीलाई अभिभावकका नाताबाट पशुपति शर्माले धन्यवाद दिएका छन् ।

सुन्दर भविष्यको सपना बोकेर गएका पन्तलाई उनका पिता लोकबहादुर पन्तको जिम्मा लगाइएको छ । थप उपचारको आवश्यकता छ । यसबेला पन्त दम्पतीले छोरा बचाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । आर्थिक अवस्था कमजोर भएका पन्तले बिरामीकी आमा बिमला पन्तको बैंक अफ काठमाडौंमा रहेको खाता नम्बर १५१४०००००४८३५२४ मा सहयोग गर्न अपिलसमेत गरेका छन् ।

उनी सन् २०१८ मे १५ तारिखका दिनदेखि काठमाडौंस्थित अल समा इन्टरनेशनल प्रा.लि.मार्फत दुबईको किब्सन्स इन्टरनेशनल यल यल सि कम्पनीमा सेल्स तथा प्याकिङ विभागमा काम गरिरहेका थिए । 

 

टिप्पणीहरू