पुसको जाडोमा इजिप्टका राष्ट्रपति नयाँ दिल्ली आउने

पुसको जाडोमा इजिप्टका राष्ट्रपति नयाँ दिल्ली आउने

भारतले आगामी गणतन्त्र दिवसको दिन आयोजना गर्ने विशेष समारोहमा इजिप्टका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने भएको छ । राष्ट्रपति अब्देल फताह अल सिसी उक्त कार्यक्रममा सहभागी हुने भारतीय पक्षले पुष्टि गरेको छ ।

कोभिड महामारीका कारण यसअघि सन् २०२२ र सन् २०२१ मा आयोजित कार्यक्रममा कुनै पनि मुलुकका राष्ट्राध्यक्षलाई प्रमुख अतिथि बनाइएको थिएन । आगामी जनवरी २६ तारिखका दिन नयाँ दिल्लीमा मनाइने उक्त समारोहमा इजिप्टका राष्ट्रपति प्रमुख अतिथि हुने निश्चित भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

इजिप्टका राष्ट्र प्रमुखले भारतीय गणतन्त्र दिवसमा प्रमुख आतिथ्यता ग्रहण गर्न लागेको यो पहिलो पटक हो । यो वर्ष दुबै देशले कूटनीतिक सम्बन्ध कायम भएको ७५ औं वार्षिकोत्सव मनाएका छन् । यसअघि सन् २०२० मा ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो भारतीय गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि बनेका थिए ।

भारतको सन् १९५१ को दोस्रो गणतन्त्र दिवसमा नेपालका तत्कालीन राजा त्रिभुवनलाई प्रमुख अतिथि बनाइएको थियो । त्यसअघिको पहिलोमा इण्डोनेसियाका राष्ट्रपति सुकार्नो थिए ।  त्यसैगरी सन् १९५५ मा पाकिस्तानका गभर्नर जनरल मलिक गुलाम मोहम्मद र सन् १९५७ मा चिनियाँ राष्ट्रिय जनकाँग्रेसको स्थायी समिति अध्यक्ष ये चेनयिङलाई आमन्त्रण गरिएको थियो ।

सन् १९९९ मा नेपालका राजा वीरेन्द्रलाई भारतको ५० औं गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि बनाइएको थियो ।

टिप्पणीहरू