शिक्षकद्वारा वडासदस्यमाथि हातपात प्रयास

शिक्षकद्वारा वडासदस्यमाथि हातपात प्रयास

काभ्रेपलाञ्चो जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर २ सिम्थलीका वडा सदस्य विनय भण्डारीमाथि हातपातको प्रयास भएको छ । स्थानीय विद्यालयका एक शिक्षकले भण्डारीलाई तथानाम गालीगलौज गर्दै हातपातको प्रयास गरेको बताइन्छ ।

श्री सेतीदेवी आधारभूत विद्यालयका शिक्षक राजकुमार महतले भलीभाँती गाली गर्दै हातपात गर्न अघि सरेको स्थानीयले बताएका छन् । 

पटक पटक विद्यालय निरीक्षणको क्रममा विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई गलत तवरले अध्यापन गराएको भेटिएपछि वडा सदस्य भण्डारीले अध्यापनमा ध्यान दिन आग्रह गरेका थिए । 

विद्यार्थीहरुलाई दिइएको गृहकार्यमा समेत थुप्रै त्रुटी भेटिएपछि उनले अन्य संघसंस्थामा आबद्ध नहुने र विद्यार्थीको पठनपाठनमा ध्यान दिन शिक्षकहरुलाई सुझाएका थिए । 

लामो समयदेखि नवउत्पादन कृषि सहकारी संस्थाको सचिवका रुपमा कार्यरत महतले शिक्षक अन्य संस्थामा आवद्ध हुन हुनै पनि कानुनले नरोकेको भन्दै वडा सदस्यमाथि झम्टेको स्थानीयहरुको भनाइ छ । 

‘तँ वडा सदस्यले के गर्न सक्छन् गर’ भन्दै विद्यालयको पोशाकमा नै हात हाल्न आएपछि सबै शिक्षक मिलेर छुट्याएको स्थानीय केशव महतले बताए । उक्त विद्यालयका प्रधानाध्यापक र शिक्षक महत सहकारी संस्थाको अध्यक्ष र सचिव रहेको बताइन्छ ।

वडा सदस्यलगायत अरु स्थानीयले शिक्षकको जिम्मेवारीमा रहेका सरकारी कर्मचारीले अन्य संस्थाको कार्यकारी सदस्य बन्न प्रचलित कानुनले रोकेको भन्दै महतलाई सहकारीको पदाधिकारीबाट हटाइएको थियो । 

सहकारीको सचिवबाट हटाएपछि रिसले आगो भएका शिक्षक महतले वडा सदस्य भण्डारीलाई धम्की दिँदै पिट्न जाइलागेको अर्का स्थानीयले डिलबहादुर दर्जीले पनि बताए । 

विद्यार्थीको पठनपाठनमा असर पार्दै शिक्षकहरु अन्य कार्यमा संलग्न हुन नमिल्ने गाउँपालिकाको शिक्षा शाखा अधिकृत प्रेम पुरीले बताए । सिम्थलीका वडाध्यक्ष सुजन भण्डारीले उक्त विषयमा गुनासो आएको र केही दिनमा दुवै पक्षलाई राखेर छलफल गर्ने जानकारी दिएका छन् । 

यता, वडा सदस्य भण्डारीले उक्त घटनामा आवश्यक छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

 

टिप्पणीहरू