यस्तो छ, चितवनको चुनावी हिसाबकिताब

यस्तो छ, चितवनको चुनावी हिसाबकिताब

पहिले जस्तो चुनावको रौनक अहिले अन्यत्रझैँ चितवनमा पनि छैन । पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उठ्दा जनतामा निकै उत्साह र बेग्लै रन्को थियो चुनावको । त्यसमा यस पटक प्रचण्ड पनि गोरखाबाट उठेका छन् । त्यहि पनि चितवनको चुनावमा देश–विदेशको ध्यान खिचिएको छ । 

प्रचण्ड चितवनबाटै उठ्ने भन्दाभन्दै एकाएक गोरखा जानु आफैंमा निकै अर्थपूर्ण रह्यो । प्रचण्डकै क्षेत्रबाट चुनाव लड्छु भनिरहेका रवि लामिछानेले पनि अन्ततः निर्वाचन क्षेत्र फेरे । क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेसँग सेटिङ मिलाएर रवि २ मा आएको चर्चा छ । राप्रपाका उद्धव पौडेल रविका ससुरा हुन् । 

जेहोस्, चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस पटक रविले नै चुनाव जित्नसक्ने सम्भावना रहेको स्थानीय बताउँछन् । उनीहरुले मतान्तर पनि राम्रै फराकिलो हुने आकलन गरेका छन् । केही उच्च सरकारी अधिकारीको लेखाजोखा अनुसार रविले राम्रै मत ल्याउने सम्भावना रहेको अनौपचारिक कुराकानीमा बताए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा चितवनका जनताले रविलाई बचाइदिएका थिए । जनताको त्यो सहानुभूति अहिले पनि उनलाई भोट पाउने एउटा माध्यम भएको छ भने पुराना राजनीतिक दल तथा नेताहरुको काम गराइबाट दिक्क भएका अन्यले पनि रविलाई नै मत खन्याउने सम्भावना छ । तर पछिल्ला दिनमा रविको वाहीवाही पनि केही घट्दै गएको छ । चुनाव प्रचारका क्रममा आइतबार रविको गाडीमा तोडफोडसमेत भयो ।  

जेहोस्, सो क्षेत्रमा यस पटक एमालेका कृष्णभक्त पोखरेको स्थान खुम्चिने अनुमान गरिएको छ । उनी यसअघि सोही क्षेत्रबाट सांसद थिए । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठको चर्चा अरुभन्दा बढी देखिन थालेको छ । 

पोख्रेलप्रति एमालेभित्रै पनि असन्तुष्टि देखापरिरहेको अवस्थामा अहिले श्रेष्ठको पक्षमा माहौल ल्याउन स्वयम् एमालेजनहरु लागेको भन्नेहरु पनि छन् । चितवन क्षेत्र नम्बर २ को प्रदेश १ मा गठबन्धनबाट माओवादी केन्द्रका घनश्याम दाहालको पल्ला भारी हुनसक्ने स्रोतको आकलन छ । प्रदेश २ मा भने एमालेका देवी ज्ञवाली अगाडि आउनसक्ने बताइन्छ। तर दाहाल र ज्ञवालीको बारेमा पनि अहिले नै यसै हो भनेर किटान गर्न नसकिने विश्लेषण चितवनमा व्याप्त छ ।

चितवनको क्षेत्र नम्बर ३ मा गत चुनावमा प्रचण्डसँग हारेका भए पनि यसपटक विक्रम पाण्डेलाई सबैले पहिलो हुने ठानेका हुन् । गठबन्धनबाट माओवादी केन्द्रका भोजराज अधिकारी र कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाबीच टक्कर हुने अनुमान पनि उत्तिकै छ । क्षेत्र नम्बर ३ को प्रदेश १ मा गठबन्धनबाट नेपाली काँग्रेसका सूर्यकान्त घिमिरेको सम्भावना बढी देखिन्छ । 

एमालेका कृष्णप्रसाद भुर्तेलले पहिले चुनाव जितेका थिए । तर उनले खासै छाप नछाडेकाले मतदाताले नयाँ उम्मेदवार रोज्ने अवस्था बन्दै गएको हो । प्रदेश २ मा यसअघि माडीका मेयर समेत भइसकेका माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल प्रचारप्रसारमा अगाडि देखिन्छन् । यहाँ एमालेकी सरस्वती विष्ट दोस्रो र राप्रपाकी रिना गुरुङ पनि छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा अहिलेसम्मको माहोल हेर्दा गठबन्धनबाट नेपाली काँग्रेसका विश्वनाथ पौडेलको अवस्था सुदृढ भनिएको छ । यसअघि धेरैपटक चुनाव जितेका एमालेका सुरेन्द्र पाण्डेले विगतमा आफ्नो क्षेत्रमा केही नगरेकोलगायत एमाले टुक्रिएको अवस्थासँग जोडेर हेरिएको हो । 

‘यस क्षेत्रमा एकीकृत समाजवादीको अवस्था पनि राम्रो छ’, स्थानीय मतदाताले भने ‘गत स्थानीय चुनावमा लोकतान्त्रिक–वाम गठबन्धनले आठ हजार बढी मत ल्याएको ठाउँ हो ।’ यहाँको प्रदेश १ मा एमालेकै जगनाथ (जेएन) थपलिया अगाडि आउने सम्भावना प्रबल छ । नेपाली कांग्रेसबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर गुरुङको पनि राम्रै मत आउने अवस्था छ । 

प्रदेश २ मा यसअघि मन्त्री भइसकेका नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनालको स्थिति अरुको भन्दा राम्रो मानिन्छ । पछिल्लो अवस्था हेर्दा स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेको स्थान पनि सुदृढ हुँदै गएको छ ।

टिप्पणीहरू