जितेर गएपछि मुख नफर्काएका नेतालाई बाटैमा तगारो

जितेर गएपछि मुख नफर्काएका नेतालाई बाटैमा तगारो

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीमा नेकपा (एमाले) का उम्मेदवारलाई प्रवेश निषेध भन्दै स्थानीयले रित्तो भाँडोले बाटो छेकेका छन् ।

२०७४ सालको निर्वाचनमा आफूहरूले चुनाव जिताएर पठाए पनि एक पटक पनि गाउँ फर्केर नआएको भन्दै यो पटकको निर्वाचनमा भोट माग्न आएमा प्रवेश निषेध गरिएको स्थानीय हरिबहादुर सुनुवारले जानकारी दिए ।

तत्कालीन प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ ‘कुशल’, एमालेबाट प्रदेश उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल र शान्तिप्रसाद पौडेललाई वडामा प्रवेश निषेध गरिएको सुनुवारले बताए ।

रित्ता भाँडा,गाग्री र २०७४ सालमा उम्मेदवार बनेका श्रेष्ठ,ढुङ्गेल र पौडेलको फोटोसहितको चुनावी ब्यानर राखेर बाटो थुनिएको छ । साथै सुनुवारले आफूहरूले जिताएर पठाएपछि एक पटक पनि गाउँ नफर्किएकाहरूलाई ‘टर्च बालेर’ खोज्ने बेला भएको टर्च पनि तयारी हालतमा राखिएको छ ।

तत्कालीन समयमा ‘कुशल’ले गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको चुनाव जितेका थिए भने प्रदेशमा ढुङ्गेल र पौडेलले बाजी मारेका थिए । उनीहरू प्रदेशका मन्त्रीसमेत बने तर,भोट दिने मतदातालाई सम्झिएर नआएको भन्दै स्थानीयहरू आक्रोशित बनेका हुन् ।

पौडेल प्रदेश सदस्य र ढुङ्गेल सङ्घीय संसद्को लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका छन् ।

एकीकृत समाजवादी पार्टी (एस) मा प्रदेश सभाको उम्मेदवार बनेका रमेशकुमार बस्नेत सहितको टिम भोट माग्न पुग्दै गर्दा स्वागत गरेका सुनुवारले गाउँ नफर्किने स्वार्थी नेतालाई चाहिँ गाउँ प्रवेशमा थोत्रो भाँडोले बाटो छेक्ने बताएका हुन् ।

टिप्पणीहरू