राजमार्गका होटल, रेष्टुरेण्टमा हानिकारक तेल

राजमार्गका होटल, रेष्टुरेण्टमा हानिकारक तेल

बारम्बार एउटै तेलमा खानेकुरा तार्दा ‘पोलार म्याटेरियल’ को मात्रा बढ्दै जान्छ । पोखरा–स्याङ्जातिर राजमार्गमा सञ्चालित होटल, रेष्टुरेन्टहरुमा यस्तो हानिकारक तेल प्रयोग भइरहेको पाइएपछि अनुगमन टोलीले नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले गत बुधबार कास्कीको पोखरादेखि स्याङ्जाको पुतलीबजारसम्मका ४६ वटा होटल/रेष्टुरेन्ट र १० वटा किराना पसलको अनुगमन गरेको थियो । होटल, रेष्टुरेन्टमा खानेकुरा तार्ने कराईको तेल पोलारीमिटरले परीक्षण गर्दा ‘पोलार म्याटेरियल’ को मात्रा अत्यधिक पाइएपछि ‘अन द स्पट’ फाल्न लगाइएको हो ।

विभिन्न होटल, रेष्टुरेन्टबाट यस्तो अखाद्य फ्राइङ तेल २० लिटर जति नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य अनुसन्धान अधिकृत प्रदीप काफ्लेले जानकारी दिए ।

‘खाद्य स्वच्छता मापदण्डले टोटल पोलार म्याटेरियलको मात्रा २५ प्रतिशतभन्दा तल हुनुपर्छ भनेको छ’, खाद्यविज्ञ भन्छन्, ‘१–१५ प्रतिशत सुरक्षित लेबल हो । १६ देखि २० प्रतिशत ठिकै मानिन्छ । २१ देखि २५ प्रतिशतमा जोखिमपूर्ण हुन्छ भने २५ प्रतिशतभन्दा माथि खतराको अवस्था हो ।’

खाद्य अनुसन्धान अधिकृत काफ्लेका अनुसार पोखरा–स्याङ्जातिरका ती होटल, रेष्टुरेन्टमा प्रयोग भइरहेको तेलमा पोलार म्याटेरियलको अधिकतम मात्रा २५ देखि ३५ प्रतिशतसम्म पाइएको थियो । यसको सेवनले उच्च रक्तचाप, कोलेस्टेरोल बढ्नेदेखि क्यान्सरसमेत हुनसक्ने विज्ञ बताउँछन् ।

सडकछेउका होटल–रेष्टुरेन्टमा खानेकुरा खुल्ला र कतैकतै झुलले छोपेर राखिएको थियो । झुलले धुलो–धुँवा र झिँगा–भुसुनाजस्ता फोहोर के छेक्थ्यो ? त्यस्ता होटललाई अनिवार्य रुपले सिसाको फ्रेमभित्र खाद्यपदार्थ राख्न निर्देशन दिइएको छ । यस्तै, रंगको प्रयोग जथाभावी नगर्न र रंग प्रयोग गरेपछि खाद्य पदार्थलाई पकाउन, तार्न निषेध गरिएको जानकारी पनि उनले दिए ।

पत्रिकामा समोसा, पकौडा, सेलरोटी, आलुचपजस्ता चिल्ला खाद्यपदार्थ नराख्न सचेत गराइएको, फ्रिजको सरसफाइ र व्यवस्थापनबारे पनि सिकाइएको खाद्य अनुसन्धान अधिकृत काफ्ले बताउँछन् । अनुगमनको क्रममा ठूलो मात्रामा उपभोग्य मिति सकिएका, लेबल विवरण नभएका खाद्य पदार्थ पनि जफत गरी नष्ट गरिएको थियो भने अपूर्ण लेबल राखी उत्पादित पाउरोटी, चाउमिनलाई दुई दिनभित्र पूर्ण लेबल राखेरमात्रै उत्पादन र बिक्री–वितरण गर्न निर्देशन दिइएको बताइएको छ ।

केचप ५ लिटर, बेकरीमा प्रयोग हुने फ्लेवर, कलर गरी करिब १० लिटर, जुस २० लिटर, चाउचाउ करिब दुई कार्टुन, रंगीन ढुंग्रो पापड करिब ५ केजी नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत काफ्लेले जानकारी दिए ।

प्रदीप काफ्लेसहित खाद्य अनुसन्धान अधिकृतहरु दिपक कुँवर, अनुषा कार्की, खाद्य निरीक्षक पूर्णकला थापा, सविना सुनार र केदार पौडेलको टोलीले चाडपर्व लक्षित उक्त अनुगमन गरेको थियो । किराना पसल सञ्चालकहरुलाई लेबल विवरण नभएका, सडेका, बिग्रेका भाइमसला र रंग प्रयोग भएका झिलिड्डा नबेच्न पनि कडा निर्देशन दिइएको छ ।

टिप्पणीहरू