भक्तपुरभन्दा पहिले नेपालगञ्जमा जीब्रो छेड्न थालियो

भक्तपुरभन्दा पहिले नेपालगञ्जमा जीब्रो छेड्न थालियो

रामनवमीको दिन आज नेपालगञ्जस्थित वागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशमा जीब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा चलिआएको छ ।

चैते दसैँ शुरु हुने परेवाको दिनदेखि नै निराहार व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पूरा भएपछि वाक्यकी देवी वागेश्वरीलाई जीब्रो छेडेर दर्शन गर्नेे चलन परापूर्वकालदेखि चलिआएको हो ।

मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले पहिलेको तुलनामा अहिले जीब्रो छेड्न आउनेको संख्या घट्दै गएको बताउँदै भने,‘पहिले आफ्नो जीब्रो काटेर चढाउने,जीब्रो र छातीमा त्रिशुल रोपेर दिनभरि मन्दिरको परिक्रमा गर्ने भक्तजनहरू पनि थिए । तर,अहिले उक्त कार्य गर्ने भक्तजनमा कमि आएको छ ।’

नवरात्रको ब्रत बसेकाहरू बडा दशैं र चैते दशैंको नवमीका दिन मन्दिरमा जीब्रोलाई तिखो धातुले (त्रिशुल) छेड्ने परम्परा रहेको छ । हरेक वर्ष करिब १ सय ५० जनाभन्दा बढी धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेको मूलपुरोहित योगीले जानकारी दिए ।

निरहार ब्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा कुनै कष्ट नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास छ ।

यता, भक्तपुरमा भने बिस्केट जात्राको अवसरमा हरेक वर्ष एक जनाले जिब्रो छेड्ने चलन छ । सामान्यतयाः नयाँ वर्षको छेकोमा उक्त जात्रा र जिब्रो छेड्ने कार्य हुने गरेको छ ।

टिप्पणीहरू